जनता टाइम्स

१८ पुष २०८२, शुक्रबार २१:००

कुलमानले रास्वपामा पार्टी विलय गरेकाे केही दिनमै भाँडभैलो, छुट्टै बन्दसूची पेश गर्न आयोग पुगे नेता, म्याद गुज्रिएको भन्दै पठायाे फिर्ता 


काठमाडौं, पुस १८ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय भएको केही दिन नबित्दै पार्टीभित्र आन्तरिक विवाद सतहमा आएको छ । एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उज्यालो नेपाल पार्टीका नेताहरू छुट्टै बन्दसूची पेश गर्न पाउँ भनी शुक्रबार निर्वाचन आयोग पुगेका छन् ।

तर निर्वाचन आयोगले बन्दसूची पेश गर्ने समयसीमा सकिएको जनाउँदै छुट्टै बन्दसूची लिन अस्वीकार गरेको छ ।

केही दिनअघि उज्यालो नेपाल पार्टीले रास्वपासँग एकता गर्दै आफ्ना १८ जनाको नाम रास्वपा कै तर्फबाट बन्दसूचीमा समावेश गरेको थियो । तर एकता प्रक्रियामा समस्या देखिएको दाबी गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय, केन्द्रीय सदस्य श्री गुरुङ, ज्ञानेन्द्रकुमार तामाङलगायतको टोली छुट्टै बन्दसूची पेश गर्न अनुमति माग्दै आयोग पुगेको हो । उहाँहरुलाई कुलमानले नै आयाेग पठाउनु भएकाे थियाे ।

उहाँहरूले पुस १४ गते नै बन्दसूची पेश गर्ने प्रयोजनका लागि ५० हजार रुपैयाँ धरौटी बुझाइसकेको भन्दै छुट्टै बन्दसूची पेश गर्न पाउनुपर्ने माग आयोगसमक्ष राख्नुभएको थियो । तर आयोगका कर्मचारीहरूले बन्दसूची पेश गर्ने कानुनी म्याद समाप्त भइसकेकाले अब नयाँ वा छुट्टै बन्दसूची दर्ता गर्न नमिल्ने स्पष्ट पार्नु भएकाे छ ।

रास्वपासँग एकता घोषणा भए लगत्तै उज्यालो नेपाल पार्टीभित्र असन्तुष्टि बढ्दै गएको बताइँदै आएको छ । आयोगबाट माग अस्वीकार भएपछि उक्त विवाद अब कसरी अघि बढ्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ ।