जनता टाइम्स

१९ पुष २०८२, शनिबार १८:५४

इलाम–२ बाट सुहाङ नेम्वाङको नाम एकल सिफारिस, जनविश्वास नै बलियो आधार


इलाम, पुस १९ । विघटित प्रतिनिध सभा सदस्य सुहाङ नेम्वाङ प्रतिनिधि सभा निर्वाचनका लागि इलाम–२ बाट एकल रूपमा सिफारिस हुनुभएकाे छ । पार्टीले सर्वसम्मत रूपमा उहाँको नाम सिफारिस गरेकाे हाे ।

पूर्वसभामुख पिता सुवास नेम्वाङकाको निधनपछि भएको उपचुनावमार्फत प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सुहाङ नेम्वाङले छोटो समयमै जनतासँग स्थापित सम्बन्ध, संयमित अभिव्यक्ति र जिम्मेवार भूमिकाका कारण पार्टीभित्र मात्र होइन, मतदातामाझ पनि विश्वास आर्जन गर्न सफल भएको नेताहरूको मूल्याङ्कन छ । त्यही जनविश्वासकै निरन्तरताका रूपमा पार्टीले आगामी निर्वाचनका लागि उहाँको नाम एकल सिफारिस गरेको बताइएको छ ।

उहाँ कुनै भावनात्मक सहानुभूतिको भरमा अघि सारिनु भएको होइन, उहाँले उपचुनावपछि संसदमा देखाउनुभएको उपस्थिति, क्षेत्रका मुद्दाप्रति देखाउनुभएको संवेदनशीलता र स्थानीय जनतासँगको निरन्तर सम्पर्कले सुहाङ नेम्वाङ जनताको मनमा बस्न सफल हुनु भएको छ । त्यसैले सबै तहबाट उहाँकै नाममा सहमति बनेको हो ।

इलाम–२ सुवास नेम्वाङको राजनीतिक कर्मभूमि मात्र नभई एमालेको परम्परागत आधार क्षेत्र मानिन्छ । यस क्षेत्रमा नेम्वाङ परिवारको राजनीतिक योगदान र छवि अझै पनि बलियो छ । तर पार्टी नेताहरू भन्छन्, ‘नाम र विरासत मात्र चुनाव जित्ने आधार हुँदैन, जनप्रतिनिधिले देखाउने व्यवहार र कार्यशैलीले नै अन्ततः निर्णय गर्छ, सुहाङले त्यो भरोसा कायम राख्नुभएको छ ।’

उपचुनावमा जित हासिल गरेपछि सुहाङ नेम्वाङले शिक्षा, पूर्वाधार, कृषि र युवासम्बन्धी मुद्दालाई प्राथमिकतामा राख्दै क्षेत्रीय सरोकार संसदसम्म पुर्‍याउने प्रयास गर्नु भएकाे थियाे । स्थानीय विकास निर्माणका विषयमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको भूमिका खेल्न पनि उहाँको सकारात्मक पक्षका रूपमा लिइएको छ ।

पार्टीका नेता–कार्यकर्ताले जनताबीच स्थापित प्रतिनिधिलाई पुनः अघि सार्नु नै आगामी निर्वाचनमा जितको बलियो आधार हुने विश्वास व्यक्त गरेका छन् ।

सुहाङ नेम्वाङको नाम एकल सिफारिस हुनुले पार्टीभित्र आन्तरिक विवाद वा प्रतिस्पर्धा नरहेको सन्देश पनि दिएको छ । यसले चुनावी तयारीलाई थप व्यवस्थित र केन्द्रित बनाउने नेताहरूको बुझाइ छ ।

अब अन्तिम निर्णय केन्द्रबाट हुने भए पनि इलाम–२ मा सुहाङ नेम्वाङ नै पार्टीको प्रमुख चुनावी अनुहार बन्ने सम्भावना बलियो देखिएको छ । जनताको मनमा बसेका जनप्रतिनिधिलाई पार्टी नेता–कार्यकर्ताले गरेको यो सम्मान नै आगामी निर्वाचनमा विजयको आधारस्तम्भ बन्ने अपेक्षा गरिएको छ ।