काठमाडौं, पुस १९ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङले पाँच जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
पार्टीको जिल्ला कमिटीको आज बसेको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा पार्टी उपमहासचिव योगेश भट्टराईसहित कोसी प्रदेश सभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य क्षितिज थेबे, कोसी प्रदेशका पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य टङ्क आङ्बोहाङ र फुङ्लिङ नगरपालिका उपप्रमुख तथा जिल्ला कमिटी उपसचिव भीमादेवी ओझाको नाम सिफारिस गरेको हो ।

पार्टीका जिल्ला अध्यक्ष दिपेन पोमुका अनुसार जिल्ला कमिटी बैठकले सर्वसम्मत रूपमा पाँच जनाको नाम माथिल्लो तहमा पठाउने निर्णय गरेको हो ।
पार्टी उपमहासचिव योगेश भट्टराई यसअघि २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित हुनु भएको थियो ।
जिल्ला कमिटीको सिफारिस पार्टीको केन्द्रीय तहमा पठाइने र अन्तिम निर्णय केन्द्रबाट हुने जनाइएको छ ।













प्रतिक्रिया दिनुहोस्