जनता टाइम्स

२० पुष २०८२, आईतवार ०९:०९

भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन : महासचिव पोखरेल


काठमाडौं, पुस २०। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपलाई संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन भएको टिप्पणी गर्नुभएको छ ।

कुनै एक देशको जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्यले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रहार गरेको उहाँको भनाइ छ ।

महासचिव पोखरेलले यस्तो कदमले संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्यमाथि नै प्रश्न उठाउने बताउँदै आधुनिक विश्व र सभ्य समाजका लागि यस्ता गतिविधि स्वीकार्य हुन नसक्ने स्पष्ट पार्नुभयो । “कुनै पनि देशको सार्वभौम निर्णय र जनताको मतबाट निर्वाचित नेतृत्वमाथि बाह्य सैन्य हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय व्यवस्थाको मर्मविपरीत हो,” उहाँले उल्लेख गर्नुभयो ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय कानुनको पालनासम्बन्धी गम्भीर बहस आवश्यक बनाएको महासचिव पोखरेलको धारणा छ । उहाँले यसप्रकारका विषयमा अन्तर्राष्ट्रिय समुदाय मात्र होइन, स्वयं अमेरिकी समाजभित्रै पनि जिम्मेवार र गम्भीर बहस हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

महासचिव पोखरेलले विश्व शान्ति, सार्वभौमिक समानता र लोकतान्त्रिक मूल्यको रक्षा गर्न अन्तर्राष्ट्रिय संस्थाहरूले आफ्नो भूमिकालाई निष्पक्ष र प्रभावकारी ढंगले निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।