जनता टाइम्स

२० पुष २०८२, आईतवार १०:३६

राेल्पामा राष्ट्रपति रनिङ सिल्ड खेलेर फर्किएका विद्यार्थी बोकेको जीप दुर्घटना, दुईको मृत्यु


काठमाडौं, पुस २० ।  राेल्पामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी भएर घर फर्किंदै गरेका विद्यार्थी बोकेको जीप दुर्घटनामा परेकाे छ । दुर्घटनामा २ जना विद्यार्थीको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

सुनछहरी गाउँपालिका वडा नम्बर १ गामखोलाको सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग१ज ६६६६ नम्बरको बोलेरो जीप गएराति दुर्घटनामा परेको हो ।

दुर्घटनामा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीकी १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल विकको मृत्यु भएको रोल्पा प्रहरीले जनाएकाे छ । मृतक दुवै जना नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।

दुर्घटनामा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीकै १५ वर्षीय हिमाल विक, १२ वर्षीया अमृता पुन, १४ वर्षीया जमुना विक, २४ वर्षीया अस्मिता विक, १६ वर्षीया पवित्रा पुन, १७ वर्षीय शनि विक, १२ वर्षीया विपना घर्ती मगर, १५ वर्षीय किसन घर्ती मगर र १५ वर्षीया हस्तिरा विक घाइते भएका छन् ।

घाइते ९ जनालाई रोल्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।