जनता टाइम्स

२० पुष २०८२, आईतवार २०:११

मकवानपुरकाे भीमफेदी जुरीखेतमा सुमो दुर्घटना : ६ जनाको मृत्यु, ३ जनाको उपचार जारी


मकवानपुर, पुस २० । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा आइतबार साँझ भएको यात्रुवाहक सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइतेको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा आइतबार साँझ करिब ५ः२० बजेको समयमा अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा ६ पुरुष, १ महिला, १ बालिका र १ बालक गरी कुल ९ जना घाइते भएका थिए । घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएकोमा उपचारकै क्रममा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार मृतकहरूको हालसम्म पहिचान खुल्न सकेको छैन । उहाँका अनुसार बाँकी ३ जनाको हेटौँडामा उपचार भइरहेको छ भने उनीहरूको अवस्था चिकित्सकीय निगरानीमा रहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।