काठमाडौं, पुस २१ । भदौ २३–२४ मा भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र काठमाडौं उपत्यका बाहिर जान नपाउने बन्देज फुकुवा गरेको छ।
आयोगले ओलीसँग बयान तथा आवश्यक सोधपुछ प्रक्रिया सम्पन्न भइसकेकाले उहाँमाथि लगाइएको प्रतिबन्धको औचित्य समाप्त भएको ठहर गर्दै फुकुवा गर्ने निर्णय गरेको हो।
आयोगले सोमबार निर्णय सार्वजनिक गर्दै ओलीमाथिको विदेश भ्रमण रोक र स्थान हदसम्बन्धी बन्देज औपचारिक रूपमा हटाइएको जानकारी दिएकाे छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिअनुसार, भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ तथा छानबिनका क्रममा तत्कालीन प्रधानमन्त्री ओलीलाई असोज १२ गतेदेखि विदेश भ्रमणमा रोक लगाइएको थियो। साथै आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने गरी राेक लागाइएकाे थियाे । तर, घटनासँग सम्बन्धित रूपमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाहीबारे आयोगले आवश्यक सोधपुछ तथा बुझ्ने कार्य सम्पन्न गरिसकेकाले उक्त निर्णयको औचित्य नरहेको निष्कर्षमा पुगेर बन्देज फुकुवा गरिएको विज्ञप्तिमा उल्लेख छ।
आयोगको आज बसेको बैठकले उक्त निर्णय गरेको जनाउँदै, सम्बन्धित निकाय तथा स्वयं ओलीलाई समेत जानकारी गराइने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो। साथै आयोगका प्रेस विज्ञप्ति तथा सूचनाहरू गृह मन्त्रालयको वेबसाइटमार्फत पनि हेर्न सकिने व्यवस्था गरिएको जनाइएको छ।














प्रतिक्रिया दिनुहोस्