जनता टाइम्स

२२ पुष २०८२, मंगलवार १८:४७

एमाले, कांग्रेस र नेकपा मिलेर राष्ट्रिय सभा चुनाव लड्ने, महन्थ ठाकुरलाई पनि राष्ट्रिय सभा सदस्य बनाउने 


काठमाडौं, पुस २२। राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस  र नेपाली कम्युनिष्ट पार्टी मिलेर चुनाव लड्ने भएका छन् ।

नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेस र एमालेले ७/७, नेकपाले ३ र जसपाले १ सिट दिने गरी सहमति भइसकेको छ। अब क्लस्टर मिलाउन बाँकी छ।

आज बसेको बैठकले उम्मेदवार टुङ्गो लगाउन नसकेपछि अहिले नेताहरू आन्तरिक छलफलमा छन्। कार्यसम्पादन समितिको बैठक भोलि बिहान ९ बजे पुनः बस्ने गरी बोलाइएको छ।

नेकपा एमालेको सचिवालय बैठकले पनि तालमेल गरेर चुनावमा जाने निर्णय गरेको छ ।  मंगलबार च्यासलमा बसेको सचिवालय बैठकबाट उम्मेदवार छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको पार्टी उपसचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीले पनि राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, एमाले र मधेस केन्द्रित दलहरूसँग सहकार्य गरेर जाने निर्णय गरेको छ ।

पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता प्रकाश ज्वालाले मतभारको आधारमा सम्मानजनक आधारमा सहकार्य गरेर जाने बताउनुभयो । सिट सङ्ख्या र उम्मेदवार टुङ्ग्याउने जिम्मा संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई दिने निर्णय भएको छ ।

राष्ट्रिय सभामा मदेसबाट रिक्त एक सिटमा नेपाली कांग्रेसको समर्थनमा लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उम्मेदवार बनाउने सहमति भएको छ ।  ठाकुरलाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने सहमतिमा एमाले, नेकपालगायत अन्य दलको पनि समर्थन रहने बताइएको छ । ठाकुर नेतृत्वको लोसपा उपेन्द्र यादव नेतृत्वको जसपाका एकीकरण हुने सहमति भइसकेको छ ।

राष्ट्रियसभाका १८ पदका निम्ति आउँदो माघ ११ गते निर्वाचन हुँदै छ । उम्मेदवारको मनोनयनपत्र बुधबार दर्ता गरिँदै छ ।