रामेछाप, पुस २२ । रामेछाप जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि एउटै निर्वाचन क्षेत्र रहेकाले नेकपा एमालेभित्र उम्मेदवारी दाबी तीव्र बनेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमाले रामेछापबाट ८ जना नेताले औपचारिक रूपमा उम्मेदवारी दाबी प्रस्तुत गर्नुभएको छ ।
मंगलबार मन्थलीमा बसेको नेकपा एमाले रामेछाप जिल्ला कमिटीको बैठकमा पूर्व पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँ, केन्द्रीय सदस्य माधव ढुङ्गेल, केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतम, वाग्मती प्रदेशका निवर्तमान सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, प्रदेश कमिटी सदस्य परशुराम बस्नेत र पूर्व प्रदेश सदस्य केशर बुढाथोकीले उम्मेदवारी दाबी गर्नुभएको हो ।
उम्मेदवारी दाबी गर्दै केन्द्रीय सदस्य माधव ढुङ्गेलले दाबी गर्ने सबै नेताहरू योग्य रहेको उल्लेख गर्दै पार्टीले जसलाई टिकट दिए पनि त्यसको पक्षमा सिङ्गो पार्टी एकताबद्ध भएर लाग्ने बताउनुभयो । उहाँले अहिलेसम्म एक पटक पनि संसदीय निर्वाचन नलडेका कारण आफ्नो दाबी स्वाभाविक भएको उल्लेख गर्नुभयो । ढुंगेलले आफुसँग विधायककाे भूमिका राम्राेसँग निर्वाह गर्न सक्छु भन्ने आत्माविश्वास रहेकाेले साे पदमा दाबी गरेकाे बताउनुभयाे ।
त्यसैगरी केन्द्रीय सदस्य गीता कार्कीले जिल्लाबाट एक जना महिलाको मात्रै उम्मेदवारी दाबी रहेको उल्लेख गर्दै आफ्नो नामलाई समर्थन गर्न आग्रह गर्नुभयो । महिलाको सहभागिता केवल औपचारिकतामा सीमित नभई कानुन निर्माण गर्ने स्थान संसद्सम्म पुग्नुपर्ने बताउँदै उहाँले आफ्नो दाबी प्रस्तुत गर्नुभएको हो । तथापि पार्टीले जसलाई उम्मेदवार बनाए पनि आफू पूर्ण रूपमा साथ दिने उहाँको भनाइ थियो ।
वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले प्रदेश मन्त्रीको रूपमा काम गरेको अनुभव स्मरण गर्दै संघीय संसदमा पुगेर काम गर्ने इच्छा रहेको कारण उम्मेदवारी दाबी गरेको बताउनुभयो । उहाँले यस पटक रामेछापबाट एमालेले जसरी पनि चुनाव जित्नुपर्ने आवश्यकता औँल्याउँदै सबै नेता–कार्यकर्ता त्यसैअनुसार तयारीमा लाग्न आग्रह गर्नुभयो ।
प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले पार्टी र समाजका लागि आफूले गरेको योगदानको आधारमा उम्मेदवार बने पार्टीले जित्ने विश्वास व्यक्त गर्नुभयो । अहिलेसम्म कुनै पनि निर्वाचन नलडेका उहाँले संघीय संसद् बाहेक अन्यत्र आफ्नो दाबी नरहेको स्पष्ट पार्नुभयो । टिकट नपाए पनि कुनै गुनासो नरहने र पार्टीको हितका लागि नाम काट्नुपर्ने अवस्था आए स्वीकार्य हुने उहाँले बताउनुभयो ।
वाग्मती प्रदेशका निवर्तमान सचिवालय सदस्य शान्तिप्रसाद पौडेलले आफू निरन्तर जनताकै बिचमा रहेर काम गरिरहेको उल्लेख गर्दै उम्मेदवारी दाबी गर्नुभयो । यद्यपि एकल नाममा सहमति जुटे आफू बाधक नहुने उहाँको भनाइ थियो । पार्टीको निर्णय सधैँ स्विकार्दै आएको बताउँदै यस पटक पनि केन्द्रको निर्णय मान्य हुने उहाँले स्पष्ट पार्नुभयो ।
प्रदेश कमिटी सदस्य परशुराम बस्नेतले युवाको भावना समेट्नका लागि आफ्नो उम्मेदवारी आवश्यक रहेको बताउनुभयो । समयको मागअनुसार निर्णय गर्न नेताहरूलाई आग्रह गर्दै उहाँले टिकट नपाए पनि पार्टीले चयन गरेको उम्मेदवारलाई जिताउन पूर्ण रूपमा लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
पूर्व प्रदेश सदस्य केशर बुढाथोकीले रामेछापमा अनेरास्ववियु स्थापनाकालदेखि आफू सक्रिय रहेको स्मरण गराउँदै त्यसको निरन्तरताका लागि उम्मेदवारी दाबी गरेको बताउनुभयो । अहिलेसम्म सार्वजनिक पदमा नरहेकाले पनि आफ्नो दाबी स्वाभाविक भएको उहाँको भनाइ थियो । पार्टीको निर्णय अन्तिम हुने र सो निर्णय स्वीकार्य रहने उहाँले स्पष्ट पार्नुभयो ।
उम्मेदवारी दाबी गर्ने ८ जना नेतामध्ये पूर्व पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँ भने काम विशेषले देश बाहिर रहनु भएकाले बैठकमा उपस्थित हुन सक्नुभएको थिएन ।

बैठकमा जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाले उम्मेदवारी दाबी गर्ने सबै नेताहरू पार्टी निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएका योग्य व्यक्ति भएको बताउनुभयो । जिल्ला कमिटीले सबै ८ जनाको नाम केन्द्रमा सिफारिस गर्ने र अन्तिम निर्णय केन्द्रले गर्ने उहाँले जानकारी दिनुभयो । पार्टीको निर्णयअनुसार अघि बढ्दै चुनाव जित्ने लक्ष्यमा सबै एकजुट हुनु पर्ने अध्यक्ष कडरियाको भनाइ थियो ।













प्रतिक्रिया दिनुहोस्