जनता टाइम्स

२३ पुष २०८२, बुधबार १३:४९

राष्ट्रिय सभा निर्वाचन : तालमेलबाट नेकपा बाहिरिँदा एमालेले पायो ८ सिट, यी हुन् उम्मेदवारहरू


काठमाडौँ, पुस २३ । राष्ट्रिय सभा निर्वाचनको चुनावी तालमेलबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाहिरिएपछि नेकपा एमालेले ८ सिट पाउने भएको छ ।

कुल १८ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेस र एमालेबिच भएको नयाँ सहमतिअनुसार कांग्रेसले ९ र एमालेले ८ सिटमा उम्मेदवार उठाउने भएका हुन् । बाँकी एक सिट लोकतान्त्रिक समाजवादी पार्टीका नेता महन्थ ठाकुरलाई दिने सहमति दुई दलबिच भएको छ ।

यसअघि कांग्रेस र एमालेले समान ७–७ सिट लिने र नेकपालाई ३ सिट दिने सहमति भएको थियो । तर अन्तिम समयमा नेकपाले ४ सिट नपाए तालमेलबाट बाहिरिने अडान लिएपछि सहमति जुट्न सकेन । त्यसपछि नेकपाले अलग्गै चुनाव लड्ने तयारी गरेपछि कांग्रेस र एमालेले सिट बाँडफाँट पुनः मिलाएर कांग्रेसले ९ र एमालेले ८ सिट लिने सहमति गरेका हुन् ।

सोही सहमतिअनुसार नेकपा एमालेले राष्ट्रिय सभाका लागि ८ जना उम्मेदवार तय गरेको छ । एमालेले कोसी प्रदेशबाट दलित समुदायको तर्फबाट सोम पोर्तेल र लोपोन्मुख अल्पसङ्ख्यक समुदायको तर्फबाट रोशनी मेचेलाई उम्मेदवार बनाएको छ ।

त्यसै गरी मधेस प्रदेशबाट रेखा झा, वाग्मती प्रदेशबाट किसान महासंघका अध्यक्ष डा प्रेम दङ्गाललाई उम्मेदवार बनाइएको छ । गण्डकी प्रदेशबाट सम्झना देवकोटा उम्मेदवार हुनुहुन्छ ।

यस्तै, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई एमालेले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाएको छ । उम्मेदवारहरूको आज मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यहरू, प्रदेश सभाका सभामुख र उपसभामुख तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने व्यवस्था छ । उनीहरूको मतभारका आधारमा परिणाम निर्धारण हुने भएकाले कांग्रेस र एमालेबीचको तालमेल कायम रहँदा अन्य दलहरू एकठाउँमा आउँदा पनि मतभार अत्यधिक हुने र दुवै दलका उम्मेदवारहरू निर्वाचित हुने निश्चित छ ।