काठमाडौँ, पुस २३ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस २७ गते काठमाडौँको भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन आयोजना हुने दाबी गर्नुभएको छ । उहाँले विशेष महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ ।
बुद्धिजीवीहरूसँगको छलफलका क्रममा महामन्त्री थापाले पुस २७ गते बिहान ११ बजे विशेष महाधिवेशन उद्घाटन हुने जानकारी दिँदै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई उपस्थित हुन आह्वान गर्नुभएको हो ।
छलफलका क्रममा महामन्त्री थापाले राजनीतिक दलहरूभित्र प्रश्न उठ्न नदिनु लोकतान्त्रिक मूल्यविपरीत हुने उल्लेख गर्दै त्यसै कारण विशेष महाधिवेशन आवश्यक रहेको बताउनुभयो । ‘पछि हट्ने कुरा छैन,’ उहाँले स्पष्ट पार्नुभयो ।
विशेष महाधिवेशन पक्षधर समूहले यसअघि नै पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । पुस २८ भित्र १५ औँ महाधिवेशन सम्पन्न हुन नसकेको अवस्थामा पार्टी विधानको व्यवस्था अनुसार काठमाडौँमा विशेष महाधिवेशन आयोजना गर्न लागिएको जानकारी सो समूहले दिएको छ ।
महामन्त्री थापाले आफू हतारमा सभापति बन्ने उद्देश्यले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पार्नुभएको छ । उहाँले विशेष महाधिवेशनबाट जो सभापति निर्वाचित भए पनि स्वीकार गर्न आफू तयार रहेको बताउनुभयो । ‘डा शेखर कोइरालालाई बन्न मन छ भने बन्नुहोस्, अर्को कुनै नेता बन्न चाहनुहुन्छ भने पनि बन्नुहोस्, विशेष महाधिवेशनबाटै सभापति चयन होस्,’ उहाँले भन्नुभयो ।
उहाँले विशेष महाधिवेशनमार्फत पार्टीलाई सही दिशामा उभ्याउने प्रयास भइरहेको उल्लेख गर्नुभयो । आफूहरू सही ढंगले अघि बढ्न नसकेकै कारण जेनजी आन्दोलनजस्ता घटनाक्रम देखिएको स्वीकार गर्दै अब सुधार गर्दै अघि बढ्नुपर्ने महामन्त्री थापाको धारणा रहेको छ ।













प्रतिक्रिया दिनुहोस्