जनता टाइम्स

२३ पुष २०८२, बुधबार १९:४५

महामनन्त्रीले विशेष अधिवेशन बाेलाएपछि  नेपाली कांग्रेसले भन्याे : व्यक्तिगत रूपमा गरिने कुनै पनि गतिविधि संलग्न नहुनु  


काठमाडौं, पुस २३ । नेपाली कांग्रेसले पार्टी विधानबमोजिम १५ औँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशनको मागको औचित्य समाप्त भइसकेको स्पष्ट पारेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा मिति २०८२ मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा निर्णय गरी विधानअनुसार आवश्यक प्रक्रिया अघि बढाइसकेको स्मरण गराइएको छ ।

सोही निर्णयअनुसार नियमित महाधिवेशनको तयारी सुरु भइसकेको सन्दर्भमा ‘विधानबमोजिम समयमै नियमित १५ औँ महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन’को माग स्वतः समाप्त भएको केन्द्रीय कार्यसम्पादन समितिको मिति २०८२ पुस १८ गतेको बैठकले स्पष्ट गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशन तयारीका क्रममा अनिवार्य रूपमा पूरा गर्नुपर्ने पहिलो चरणअन्तर्गत क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणलाई प्रमुख कार्यका रूपमा उल्लेख गरिएको छ । पार्टी विधानअनुसार केन्द्रीय महाधिवेशनअघि वडा अधिवेशन गर्नुपर्ने र क्रियाशील सदस्य नै वडा अधिवेशनका प्रथम मतदाता हुने व्यवस्था रहेको तथ्यसमेत विज्ञप्तिमा स्मरण गराइएको छ ।

विज्ञप्तिमा नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरण सम्पन्न गरी निर्धारित कार्यतालिकाअनुसार क्रियाशील सदस्यताको सूची समयमै केन्द्रीय कार्यसमितिमा पेश हुनुपर्ने भए पनि हालसम्म पेश नभएको अवस्था रहेको उल्लेख गरिएको छ । यस्तै, मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूचीसहित निर्वाचन आयोगमा मनोनयन दर्ता भइसकेको जानकारी पनि दिइएको छ ।

यसैबीच, विदेशस्थित कतिपय नेपाली जनसम्पर्क समितिहरूले आफ्नो अधिवेशन सम्पन्न गरी पार्टीको १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन गरिसकेको र नेपालभित्र क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणको प्रक्रिया निरन्तर जारी रहेको जनाइएको छ ।

केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयअनुसार कार्यतालिका तयार गरी अधिवेशन तथा महाधिवेशनका प्रक्रिया र कार्यक्रम सञ्चालन भइरहेका बेला सोही अवधिभित्र विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । पार्टी विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारिएको छ । त्यसैले व्यक्तिगत रूपमा बोलाइने अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि विधानविपरीत हुने जनाउँदै त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई नेपाली कांग्रेसले अपिल गरेको छ ।

साथै, मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले समानुपातिकतर्फ उम्मेदवारहरू निर्वाचन आयोगमा प्रस्तुत गरिसकेको र राष्ट्रिय सभा सदस्यको मनोनयन पत्रसमेत दर्ता भइसकेको सन्दर्भमा, पार्टीको प्रतिष्ठा र हितलाई ध्यानमा राखी निर्वाचन अभियानमा अझ सशक्त रूपमा लाग्न पार्टीले आह्वान गरेको छ ।

पार्टीका केन्द्र, प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा क्षेत्र, पालिका, वडा तथा टोल तहका समिति, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित नेपाली जनसम्पर्क समिति तथा सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकहरूलाई पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने अभियानमा सक्रिय रूपमा जुट्न नेपाली कांग्रेसले आग्रह गरेको छ ।

पार्टीका महामन्त्री गगन थापाले पुस २७ गते बिहान ११ बजे विशेष महाधिवेशन उद्घाटन हुने जानकारी दिँदै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई उपस्थित हुन आह्वान गर्नुभएको छ । उहाँकाे साे अपिल आएसँगै का‌ंग्रेस स‌ंस्थापन पक्षले विज्ञप्ति निकालेकाे हाे ।