जनता टाइम्स

२५ पुष २०८२, शुक्रबार १०:५३

देश बाध्यतावश निर्वाचनमा होमियाे, एमालेलाई जिताउने र देशको अस्मिता बचाउने ऐतिहासिक जिम्मेवारी अदाह गर्नु पर्ने : माधव ढुंगेल


काठमाडौं, पुस २५ । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज माधव ढुङ्गेलले देश बाध्यतावश निर्वाचनमा जानुपरेको बताउनुभएको छ ।

उहाँले संसद् पुनःस्थापना संवैधानिक बाटो भएको भन्ने पार्टीको धारणा सार्वजनिक भइरहेकै सन्दर्भमा निर्वाचनको तयारी गर्नु एमालेका लागि दायित्व र चुनौती दुवै बनेको उल्लेख गर्नुभएको छ । ढुङ्गेलका अनुसार राजनीतिक अस्थिरताबीच पार्टीले संविधान र लोकतान्त्रिक प्रक्रियाप्रति आफ्नो प्रतिबद्धता स्पष्ट गर्दै अघि बढिरहेको छ ।

केन्द्रीय सदस्य ढुङ्गेलले भदौ २३ र २४ गते भएका ‘सर्वनाशकारी घटना’ पछि पार्टीले कार्तिक २२ र २५ हुँदै मंसिर ६ सम्म विभिन्न राजनीतिक गतिविधि र कार्यक्रममार्फत आफ्नो संगठनात्मक शक्ति प्रदर्शन गरिसकेको बताउनुभयो । साथै, पार्टीको राष्ट्रिय महाधिवेशनमा देखिएको भव्य उपस्थिति र उत्साहले एमालेको ‘जिउँदो र सशक्त रूप’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रमाणित भएको उहाँको भनाइ छ ।

अब आउने निर्वाचन जिताउनु र देशको अस्मिता जोगाउनु एमालेका लागि ऐतिहासिक जिम्मेवारी भएको उल्लेख गर्दै ढुङ्गेलले यस कार्यका लागि पार्टीभित्रको सहयात्रा सशक्त र सकारात्मक हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले साझा लक्ष्यका लागि सबै तहका नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।  ‘पार्टीको राष्ट्रिय महाधिवेशनको भव्य उपस्थितवाट पार्टीको जिउँदो रुप राष्ट्रिय अन्तराष्ट्रिय रुपमा देखाई सकेका छौँ, अब हामीले यो निर्वाचन जिताउने र देशको अस्मिता बचाउने ऐतिहासिक जिम्मेवारी अदाह गर्नु पर्नेछ’, उहाँकाे धारणा छ ।