काठमाडौं, पुस २५ । नेपाली कांग्रेसले आज आयोजना गर्न लागेको पत्रकार सम्मेलन स्थगित गरेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूको उपस्थितिमा हुने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलन आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गर्ने तयारी गरिएको थियो । सोहीअनुसार पार्टी कार्यालयका कर्मचारीले बिहानैदेखि कांग्रेस बिटमा काम गर्ने पत्रकारहरूलाई सूचना पनि गरिसकेका थिए ।
तर, कांग्रेस नेता डा. शेखर कोइरालाले पत्रकार सम्मेलनले पार्टीभित्रको विभाजनलाई थप बल पुग्ने भन्दै यस्तो अडान सार्वजनिक गर्नु उपयुक्त नहुने धारणा राख्नुभएको थियो । उहाँले यस समयमा अडानभन्दा पनि वार्ता र संवादमार्फत समस्या समाधान खोजिनुपर्ने बताउँदै पत्रकार सम्मेलनमा सहभागी नहुने जानकारी दिएपछि कार्यक्रम स्थगित गरिएको स्रोतले जनाएको छ ।
यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वानको प्रस्ताव अघि सारेपछि नेपाली कांग्रेस आन्तरिक विवादका कारण विभाजनको संघारमा पुगेको चर्चा चलिरहेको छ । साे पक्षाले पुस २७ गते विशेष अधिवेशन बाेलाएर तयारी सुरु गरिसकेकाे छ ।














प्रतिक्रिया दिनुहोस्