जनता टाइम्स

२५ पुष २०८२, शुक्रबार १४:३१

 निर्वाचनको तयारीमा जुट्ने बेला पार्टीभित्र खिचातानी र खैलाबैला उचित होइन : कृष्ण सिटौला


काठमाडौं, पुस २५ । कांग्रेस नेता कृष्णप्रसाद सिटाैलाले नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णयहरू कार्यान्वयन गर्नु नै पार्टी एकताको मूल आधार भएको स्पष्ट पारेको छ । शुक्रबार काठमाडौंमा सम्पन्न कांग्रेस संस्थापन पक्षको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन तत्कालको आवश्यकता नभएको स्पष्ट पार्नुभयो ।

उहाँले अहिले पार्टीभित्र प्रतिस्पर्धा गर्ने समय नभई आगामी निर्वाचनका लागि कांग्रेसलाई एकताबद्ध रूपमा अघि बढाउने समय भएको बताउनुभयो। सिटौलाले आफूहरू पार्टी एकता, आपसी समझदारी र केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयको पक्षमा दृढतापूर्वक उभिने पनि बताउनुभयो । विशेष महाधिवेशनको पक्ष वा विपक्षमा कति नेता छन् भन्ने विषय अलग भए पनि अहिलेको राजनीतिक सन्दर्भमा विशेष महाधिवेशन उपयुक्त नहुने उहाँको धारणा छ ।

निर्वाचनको तयारीमा जुट्नुपर्ने बेला पार्टीभित्र देखिएको खिचातानी र खैलाबैला उचित नभएको उल्लेख गर्दै सिटौलाले यसले पार्टीलाई कमजोर बनाउने चेतावनी दिनुभयो । सिटौलाले सर्वसम्मत वा बहुमत जुन प्रक्रियाबाट भए पनि पार्टीले गरेका निर्णयहरूको पालना गर्नु नै पार्टीको हित र पार्टी एकताको पक्षमा हुने स्पष्ट गर्नुभयो ।