ललितपुर, पुस २६ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा आजबाट केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।
बैठक का लागि पाँच वटा एजेण्डा तय गरिएको सचिव महेश बस्नेतले जानकारी दिनुभयो । बैठक सुरु गर्दै अध्यक्ष केपी शर्मा ओलीले विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउनु भएको छ । सम्बोधनको क्रममा अध्यक्ष ओलीले भदौ २४ को विध्वंसलाई वैधता दिने कि त्यसलाई अस्वीकार गर्ने भन्नेतिर राजनीति ध्रुवीकृत भइरहेको बताउनु भयो । आफूहरू लोकतन्त्रलाई पुनस्र्थापित गर्ने प्रयासमा रहेको धारणा पनि अध्यक्ष ओलीको छ ।
सो क्रममा उहाँले रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहलाई लक्षित गर्दै कटाक्ष गर्नुभयो । ‘लोकतान्त्रिक शक्तिहरूलाई किनारा लगाउन सम्भव नभएपछि विध्वंसका पक्षधरहरू एक ठाउँमा उभिन खोजिरहेका छन । उनीहरूमा त्रास छ, त्यसैले एक ठाउँमा उभिने प्रयास गरिरहेका छन,’ ओलीले भन्नुभयो ।
उहाँले बालेन र रवि राम्रो, स्वस्थ मनसायले एक ठाउँमा नउभिएको बताउनु भयो । ‘देश बर्बाद पार्ने मनसायले एक ठाउँमा उभिएका छन । देश बनाउने लोकतान्त्रिक शक्तिहरूका विरुद्ध मोर्चा कसेर लागेका छन,’ अध्यक्ष ओलीको भनाई थियो ।
यस्ता छन एजेण्डा
एमाले बैठकको कार्यसूची, राष्ट्रको सम्मानमा राष्ट्रगान, शहीदहरूको सम्मानमा मौन धारण
अध्यक्षको सम्बोधनः पार्टी केन्द्रीय कमिटीको प्रथम बैठकयताको राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका र आसन्न आमनिर्वाचन तथा त्यसको तयारीका बारेमा अध्यक्षको सम्बोधनका क्रममा स्पष्ट पार्नुहुने ।
१. पार्टी नियमावलीमा संशोधनः दोस्रो विधान महाधिवेशन (२०-२२ भदौ, २०८२) र एघारौं राष्ट्रिय महाधिवेशन (२७ मङ्सिर-३ पुस, २०८२) ले पार्टी विधानमा गरेको संशोधनमा आधारित रहेर पार्टी नियमावलीमा आवश्यक संशोधन प्रस्ताव प्रस्तुत र पारित गर्ने ।
२. राष्ट्रिय महाधिवेशनमा भएको आम्दानी खर्चको जानकारीः पार्टीको एघारौं राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको दसौ राष्ट्रिय महाधिवेशनको तुलनामा किफायती भएको छ । आवास र यातायातमा खर्च गर्नु नपरेका कारणले करिब ३ करोड कम खर्चमा सम्पन्न भएको छ । बैठकसमक्ष आम्दानी खर्चको मोटो जानकारी गराइने छ ।
३. केन्द्रीय सचिवालयको बैठकले गरेका निर्णयहरूको अनुमोदनः यस अवधिमा केन्द्रीय सचिवालयका २ वटा बैठक सम्पन्न भएका छन् । १२ पुस, २०८२ मा पहिलो र २२ पुस, २०८२ मा दोस्रो बैठक सम्पन्न भएका छन् । बैठकका निर्णयहरू अन्तरपार्टी निर्देशन -१ का माध्यमबाट कार्यान्वयनमा गइसकेको छ । यस बैठकवाट उपरोक्त निर्णयहरू अनुमोदनका लागि प्रस्तावित गरिनेछ ।
४. प्रमाण-पत्र वितरण गर्नेः पार्टीको एघारौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यलाई पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रमाण-पत्र वितरण गर्नुहुने ।
५. विविधः
क. समसामयिक विषयका प्रस्ताव प्रस्तुत र पारित गरिने ।














प्रतिक्रिया दिनुहोस्