काठमाडौं, पुस २६ ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीति अहिले ‘पुराना’ र ‘नयाँ’ दलको बहसभन्दा पनि भदौ २४ को विध्वंसलाई स्विकार्ने कि अस्वीकार गर्दै लोकतन्त्र पुनः स्थापित गर्ने भन्ने विषयमा स्पष्ट रूपमा ध्रुवीकृत हुँदै गएको बताउनुभएको छ ।
शनिबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सचेत, सक्रिय र हस्तक्षेपकारी भूमिकासहित लोकतन्त्रका पक्षधर अन्य दल र नागरिक समाजको प्रयासका कारण प्रतिगमनको थप शृङ्खला रोक्न सफल भएको दाबी गर्नुभयो । स्थापित राजनीतिक दललाई अस्वीकार र निषेध गर्ने अलोकतान्त्रिक व्यवहारबाट सरकार पछि हट्न बाध्य भएको र दलहरूसँग संवादको ठाउँमा आउनुपरेको उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीका अनुसार स्थापित दललाई निर्वाचनमा भाग लिन नदिने, घरबाट बाहिर निस्कनै नदिने जस्ता शङ्कास्पद पात्रहरूको माकफुइँ असफल भएको छ । भदौ २३–२४ का घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जसरी पनि मुछ्ने, मिथ्याप्रचार, मिडिया ट्रायल तथा ‘समन’ र ‘बयान’ मार्फत तेजोवध गर्ने प्रयास पनि विफल भएको उहाँले उल्लेख गर्नुभयो । ‘राज्यका वैध निकायले सोधपुछ गर्न बोलाउँदा सहयोग गर्ने, अख्तियार प्राप्त निकायले मुद्दा अभियोजन गरे कानुनसम्मत रूपमा सामना गर्ने अभ्यास हाम्रो पार्टीले गर्दै आएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘तर बदनियतका साथ गरिने नाटक मञ्चनको भुलभुलैयामा एमाले पर्दैन ।’
उहाँले कथित जाँचबुझ आयोगको पहिल्यै लेखिएको पटकथामाथि आधारित नाट्यमञ्चन पनि अन्ततः पटाक्षेप भएको दाबी गर्नुभयो ।उहाँका अनुसार मुलुकको परिस्थिति केही सङ्लिएसँगै भदौ २४ को विध्वंसकै निरन्तरतामा राजनीति अगाडि लैजाने प्रतिगामी प्रयास कमजोर बन्दै गएका छन् । तर यससँगै राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले अहिलेको राजनीतिक ध्रुवीकरण कुनै विचारधारा, दर्शन वा मुद्दामा नभई विध्वंसलाई वैध ठान्ने कि त्यसलाई अस्वीकार गर्दै लोकतन्त्र जोगाउने भन्ने सवालमा केन्द्रित हुँदै गएको बताउनुभयो । धम्की, घृणा, निषेध र हिंसाका बलमा लोकतान्त्रिक शक्तिलाई किनारा लगाउन नसकेपछि विध्वंसका पक्षधरहरू एक ठाउँमा उभिन खोजिरहेको उहाँको भनाइ थियो । ‘लोकतन्त्र राजनीतिक दलहरूको भूमिकाले बलियो हुन्छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘तर अहिले विचारविहीन, सार्वजनिक जबाफदेहिता नभएका र सामाजिक नैतिकताका दृष्टिले विवादास्पद व्यक्तिहरू एक ठाउँमा जम्मा भएर लोकतान्त्रिक प्रणाली, विचार र संस्थामाथि चुनौती दिइरहेका छन् ।’
उहाँले कुनै ‘अवतारी’ नायक आएर जादुमयी रूपमा सबै समस्या समाधान गरिदिन्छ भन्ने भ्रम फैलाइँदै गएकोप्रति पनि चिन्ता व्यक्त गर्नुभयो । ‘न त विध्वंस आन्दोलन हो, न त पपुलिज्म नै अग्रगामी विकल्प,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘पपुलिज्मले लोकतान्त्रिक प्रणाली कमजोर बनाउँछ, समाजमा निराशा र अराजकता बढाउँछ र अन्ततः विध्वंसतर्फै लैजान्छ ।’
सत्तामा पुग्न जस्तोसुकै भावना बेच्न र सम्झौता गर्न तयार हुने पपुलिष्ट पात्रहरूले नेपालजस्तो देशमा गम्भीर भूराजनीतिक जोखिमसमेत निम्त्याउन सक्ने भन्दै अध्यक्ष ओलीले भदौ २४ को विध्वंसको जगमा उभिएका, लोकतन्त्र र संविधान कमजोर पार्न उद्दत् तथा भ्रम बेच्दै एकत्रित हुन खोजिरहेका तत्त्वहरूबाट जनतालाई भ्रममुक्त गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अध्यक्ष ओलीले मुलुकका चुनौतीहरू अझै समाप्त नभएको उल्लेख गर्दै लोकतन्त्र सङ्कटमा, संविधान मिचिएको अवस्थामा र जननिर्वाचित सरकारको ठाउँमा संविधानबाहिरको अनिर्वाचित सरकार रहेको अवस्था चित्रण गर्नुभयो । समाज अझै पनि अराजकता, निषेध र हिंसाको धम्कीबाट त्रस्त रहेको, राष्ट्रिय एकता कमजोर हुँदा बाह्य चलखेलको जोखिम बढेको उहाँको भनाइ थियो ।
युवाहरूमा निराशा र अन्योल, समाजमा भ्रम र द्विविधा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले यसको सम्बोधनका लागि संविधानका पक्षधर र लोकतान्त्रिक सक्तीहरूबिच निरन्तर संवाद, न्यूनतम समझदारी र आवश्यक सहकार्य अपरिहार्य भएको बताउनुभयो । ‘हामी त्यसका लागि प्रयासरत छौँ,’ उहाँले भन्नुभयो, ‘निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा र आवश्यकता अनुसार लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्दै अगाडि बढ्न एमाले तत्पर छ ।’
ओलीले लोकतन्त्र र संविधानको रक्षा गर्न सबै लोकतान्त्रिक शक्तिलाई सहकार्यका लागि आह्वान पनि गर्नुभयो । अब लोकतान्त्रिक शक्ति मिलेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्