काठमाडौं, पुस २६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालै तराई–मधेसका विभिन्न स्थानमा देखिएका सामाजिक सद्भाव खल्बलिने घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बहुलता, सहिष्णुता र राष्ट्रिय एकताको रक्षा सबैको साझा दायित्व भएको बताउनुभएको छ।
शनिबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषता नेपालको पहिचान भएको उल्लेख गर्दै सामाजिक विद्वेष फैलाउने कुनै पनि गतिविधि अस्वीकार्य रहेको स्पष्ट पार्नुभयो। भदौ २३–२४ पछिका घटनाबाट राज्य संरचना कमजोर बनेको, राजनीतिक दलहरूको भूमिका साँघुरिएको र सुरक्षा निकायको मनोबल खस्किएको अवस्थाको अनुचित लाभ उठाउन केही तत्वहरू सक्रिय भएको उहाँको भनाइ थियो।
अध्यक्ष ओलीले नेकपा (एमाले) सम्बद्ध सबै पक्षलाई सहिष्णुता, सौहार्दता र सद्भावको पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै अवाञ्छित तत्वलाई खेल्ने मौका नदिन आह्वान गर्नुभयो। उहाँले राजनीतिक दल, सबै तहका सरकार, सुरक्षा निकाय, नागरिक समाज, धार्मिक तथा सांस्कृतिक अगुवा र आम नागरिकलाई समाजमा सद्भाव सुदृढ गर्न संयुक्त प्रयास गर्न आग्रह गर्नुभयो।
छोटो अवधिमै भदौ २३–२४ मा सिर्जित अकल्पनीय चुनौतीको सामना गर्दै मुलुक पुनः पूर्ववत् अवस्थाको नजिक आइपुगेको उल्लेख गर्दै अध्यक्ष ओलीले यसमा पार्टी पङ्क्तिको निष्ठा, जुझारुपन र एकताबद्ध क्रियाशीलताको निर्णायक भूमिका रहेको बताउनुभयो। त्यसका लागि उहाँले सम्पूर्ण कार्यकर्तालाई धन्यवाद पनि व्यक्त गर्नुभयो।
उहाँले नयाँ पुस्ताको सकारात्मक भावना र अपेक्षाको सम्मान गर्दै लोकतन्त्र, अर्थतन्त्र र समाजका भावी संवाहकका रूपमा युवासँग योजनाबद्ध संवाद र सहकार्य गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो। तर भदौमा युवा मनोविज्ञानको दुरुपयोग गरिएकोप्रति पार्टी गम्भीर र सजग रहेको उहाँको भनाइ थियो।
अध्यक्ष ओलीले प्रतिगमनको शृङ्खलामा केही हदसम्म रोक लागे पनि यसलाई निरन्तरता दिन खोज्ने प्रयासहरू अझै जारी रहेको उल्लेख गर्दै अब यो प्रक्रिया निर्वाचनमार्फत प्रकट हुन सक्ने चेतावनी दिनुभयो। लोकतान्त्रिक शक्तिलाई कमजोर पार्दै विध्वंशलाई वैधता दिने प्रयास कुनै पनि हालतमा सफल हुन नदिन पार्टी पङ्क्ति अझ एकताबद्ध र सक्रिय हुनुपर्ने उहाँले जोड दिनुभयो।
इतिहासले एकता र संगठनको बलमा पार्टी र देशले सफलता हासिल गरेको स्मरण गराउँदै अध्यक्ष ओलीले पार्टी सबल हुँदा राष्ट्रियता, लोकतन्त्र, विकास र सामाजिक न्याय सुदृढ भएको र पार्टी कमजोर हुँदा यी सबै मूल्यहरू संकटमा पर्ने गरेको उल्लेख गर्नुभयो। उहाँले कार्यकर्तालाई पार्टीका लागि मात्रै होइन, देशको भविष्य निर्माणका अग्रणी योद्धा भएको आत्मबोधका साथ अघि बढ्न आग्रह गर्नुभयो।
महाधिवेशनबाट निर्वाचित केन्द्रीय नेतृत्वको भूमिका पद र ओहदाभन्दा माथि रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले नेतृत्वको मूल्यांकन सक्रियता, स्वच्छता, पारदर्शिता र जनमुखी व्यवहारबाट हुने स्पष्ट पार्नुभयो। उहाँले अब पार्टीको सम्पूर्ण ऊर्जा प्रतिगमनलाई पूर्ण रूपमा परास्त गर्दै मुलुकलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।













प्रतिक्रिया दिनुहोस्