जनता टाइम्स

२६ पुष २०८२, शनिबार १७:२८

अहिलेको केन्द्र सरकारलाई संविधान र वाग्मती प्रदेश सरकारले चिन्दैन : मधुसूदन पौडेल


रामेछाप, पुस २६ । वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले सुशीला कार्की नेतृत्वको वर्तमान केन्द्र सरकारलाई संविधान र प्रदेश सरकारले नचिन्ने बताउनुभएको छ।

पौडेलले मन्थली नगरपालिकाले आयोजना गरेको दुईदिने कृषि तथा लघुउद्यम मेलाको शनिबार उद्घाटन गर्दै साे कुरा बताउनुभएकाे हाे। उहाँले वाग्मती प्रदेश सरकार जनमतबाट बनेको सरकार भएको तर हालको केन्द्र सरकार जनादेश प्राप्त नभएको दाबी गर्नुभयो। ‘अहिले केन्द्रमा बनेको सरकारलाई नेपालको संविधानले चिन्दैन, संविधानमा पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न सक्ने उल्लेख छैन,’ मन्त्री पौडेलले भन्नुभयो। उहाँले थप्नुभयो, ‘संविधान जति पटक पढ्दा पनि अहिलेको केन्द्र सरकारलाई वाग्मती प्रदेश सरकारले चिन्दैन।’

पौडेलले २०७२ को संविधान जनताले बनाएको संविधान भएको बताउँदै, सो संविधानका विषयमा बहस गर्ने अधिकार मात्र जननिर्वाचित संस्थासँग रहेको स्पष्ट पार्नुभयो। त्यसैले अहिलेको केन्द्र सरकार संविधानको भावना विपरित कुनै पनि परिवर्तन गर्न नसक्ने उहाँको भनाइ छ।

उहाँले भदौ २३ को आन्दोलनलाई युवा विद्रोहको रूपमा मूल्याङ्कन गर्दै त्यसलाई दुरुपयोग गरेर भदौ २३ र २४ गते हिंसा मचाइएको र देश जलाइएको बताउनुभयो। ‘देश जलाउनेहरुलाई जनताले चिन्न जरुरी छ,’ मन्त्री पौडेलले थप्नुभयो।

मेलाको उद्घाटन मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको अध्यक्षतामा भएको थियो। कार्यक्रममा वाग्मती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ लगायतले पनि धारणा राख्नुभएको थियो। मेलामा ५४ वटा स्टल राखिएका छन्।