काठमाडौँ, पुस २७ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूले पार्टी एकताको पक्षमा निरन्तर आवाज उठाइरहेको स्पष्ट गर्नुभएको छ। कांग्रेसको विशेष महाधिवेशन उद्घाटनको सङ्घारमा भिडियो सन्देश जारी गर्दै उहाँले पार्टी विभाजन नहोस् भन्नेमा आफू सचेत रहेको बताउनुभएको हो।
भिडियो सन्देशमा डा. कोइरालाले कांग्रेस रूपान्तरणको अभियानमा आक्रोश र अधैर्यताका साथ अघि नबढ्ने स्पष्ट पार्दै व्यक्तिगत महत्त्वाकाङ्क्षा आफूमा नरहेको दाबी गर्नुभयो। ‘मेरो कतिपय शैलीहरूसँग साथीहरू असहमत हुनुहुन्छ भन्ने कुरा म बुझ्छु,’ उहाँले भन्नुभयो, ‘तर पनि म कांग्रेसको रूपान्तरण अभियानमा उत्तेजित भएर होइन, धैर्यका साथ अघि बढ्न चाहन्छु।’
आफूलाई मन्त्री, महामन्त्री, सभापति वा प्रधानमन्त्री बन्ने लोभले कहिल्यै आकर्षित नगरेको दाबी गर्दै उहाँले यस्ता अवसरहरू विगतमा आए पनि रुचि नदेखाएको उल्लेख गर्नुभयो। ‘मेरो निजी महत्त्वाकाङ्क्षा केही छैन,’ उहाँको भनाइ छ।
डा. कोइरालाले परिवारबाट पाएको शिक्षा नै आफ्नो जीवन दर्शन बनेको बताउँदै सोही दर्शनबाट प्रेरित भएर पार्टीको समग्र एकताको पक्षमा शान्त तर दृढ आवाज उठाइरहेको बताउनुभयो। उहाँले यस क्रममा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग असहमति जनाउनुपरेको र अर्कोतर्फ परिवर्तन चाहने ऊर्जावान् युवाहरूको असन्तोषको सामना गर्नुपरेको उल्लेख गर्नुभयो।
विशेष महाधिवेशनको अभियान चलिरहँदा आफूले आफ्नो धारणा केन्द्रीय कार्यसमितिमा लिखित रूपमा राखिसकेको जानकारी पनि उहाँले दिनुभयो। कांग्रेस एकताको सन्दर्भमा उहाँले सहमति, सहकार्य र सहअस्तित्वको भावनाबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो। ‘हामी सबै कांग्रेसजन मिलेर एकताबद्ध भएर अघि बढ्न सक्दैनौँ र ?’ भन्दै उहाँले पार्टी समर्थक, शुभेच्छुक तथा अन्तर्राष्ट्रिय समुदायले पनि कांग्रेसलाई एकताबद्ध रूपमा अगाडि बढेको देख्न चाहेको तर्क गर्नुभयो।
महाधिवेशन प्रतिनिधिहरू पार्टीको धरोहर भएको उल्लेख गर्दै डा. कोइरालाले उनीहरू विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने उद्देश्यका साथ काठमाडौं आएको विश्वास व्यक्त गर्नुभयो। पार्टी विधानको कार्यान्वयन गर्दै समग्र कांग्रेसको हित र एकताबद्ध पार्टी निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी निर्वाह गर्न प्रतिनिधिहरू सक्षम रहेको उहाँको भनाइ छ।
समाधान ननिस्किँदासम्म निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता जनाउँदै उहाँले पार्टी एकताको लागि आफूले केही दिनदेखि ‘भगीरथ प्रयास’ गरिरहेको र त्यो प्रयास जारी रहने बताउनुभयो।













प्रतिक्रिया दिनुहोस्