जनता टाइम्स

२७ पुष २०८२, आईतवार १९:०१

जसपा नेपाल र लोसपाबीच एकता सम्झौता, राष्ट्रियसभामा महिला, अल्पसङ्ख्यक तथा दलित समूहमा दर्ता गरिएका उम्मेदवारी निष्क्रिय गर्ने सहमति


काठमाडौं, पुस २७ ।  जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बिच पार्टी एकताको औपचारिक सम्झौता भएको छ। दुई दलका शीर्ष नेता उपेन्द्र यादव र महन्थ ठाकुरले १२ बुँदे समझदारीमा हस्ताक्षर गर्दै नेतृत्व तथा कार्यविभाजनमा सहमति जनाउनुभएको हो ।

सम्झौताअनुसार एकीकरणपछि महन्थ ठाकुर पार्टीका संरक्षक रहने र उपेन्द्र यादव अध्यक्षको जिम्मेवारीमा रहने तय गरिएको छ। एकीकृत दलको नाम ‘जनता समाजवादी पार्टी, नेपाल’ नै कायम रहनेछ भने पार्टीको चुनाव चिन्ह ‘छाता’ रहने सहमति भएको छ।

पार्टी सञ्चालनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ। उक्त समितिले आफ्नै सदस्यहरूमध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्नेछ। दुवै पार्टीका केन्द्रीय समिति पूर्ण रूपमा समायोजन नहुन्ज्यालसम्म केन्द्रीय समन्वय समिति नै संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक निकायका रूपमा रहने व्यवस्था गरिएको छ।

सम्झौतामा दुवै पार्टी मातहत रहेका सबै तह र निकायका संगठन, भ्रातृ तथा शुभेच्छुक संगठन, विभाग र संयन्त्रहरू जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही केन्द्रीय समन्वय समितिको निर्णयअनुसार क्रियाशील रहने उल्लेख छ। समायोजन प्रक्रिया पूरा नहुन्ज्यालसम्म संगठनहरू आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय रहनेछन्।

केन्द्रीय समन्वय समितिका निर्णयहरू पार्टीका संरक्षक र अध्यक्षबाट प्रमाणीकरण गरिने व्यवस्था पनि सम्झौतामा समावेश गरिएको छ।

यसैबिच, सम्झौतासँगै मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि महिला, अल्पसङ्ख्यक तथा दलित समूहमा यसअघि दर्ता गरिएका उम्मेदवारीहरू निष्क्रिय गर्ने सहमति पनि भएको छ।