जनता टाइम्स

२७ पुष २०८२, आईतवार २१:२४

कांग्रेस विभाजनको पक्षमा छैनौँ, सिङ्गो पार्टीको नेतृत्व गर्ने गरी अघि बढेका छौँ : महामन्त्री विश्वप्रकाश शर्मा


काठमाडौं, पुस २७ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ। विशेष महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले सिङ्गो कांग्रेस र देशको नेतृत्व गर्ने उद्देश्यका साथ अघि बढिरहेको बताउनुभयो।

महामन्त्री शर्माले महामन्त्रीहरूकै कारण पार्टी फुट्ने आशङ्का निराधार रहेको उल्लेख गर्दै विशेष महाधिवेशनको उपस्थिति सामान्य भिड नभएको जिकिर गर्नुभयो। ‘कतिपयलाई महामन्त्रीहरूले पार्टी फुटाउँछन् भन्ने लागेको होला,’ उहाँले भन्नुभयो, ‘तर हामी सिङ्गो कांग्रेस र देशको नेतृत्व गर्ने गरी अघि बढेका छौँ, विशेष महाधिवेशनको उपस्थिति कुनै भिड होइन।’

विशेष महाधिवेशनको हलले गर्ने निर्णय नै कांग्रेसको आगामी यात्राको आधार हुने उहाँको भनाइ थियो। पार्टीको भावी दिशा प्रतिनिधिहरूको निर्णयले तय गर्ने उहाँले स्पष्ट पार्नुभयो।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको सन्दर्भ उठाउँदै महामन्त्री शर्माले त्यस क्रममा राज्यका तर्फबाट बल प्रयोग भएको टिप्पणी गर्नुभयो। ‘भदौ २३ गते संसद् भवन तोडफोड गर्न दिएको भए के जान्थ्यो ?’ भन्दै उहाँले राज्यको भूमिका प्रश्न गर्नुभयो।

भदौ २३ गते ठुलो सङ्ख्यामा ज्यान गुम्न नपरेको भए भोलिपल्टको विध्वंस नहुने तर्क गर्दै उहाँले घटनामा जेन–जीको नाममा घुसपैठ भएको दाबी गर्नुभयो। जेन–जी पुस्तालाई आत्मसमीक्षा गर्न आग्रह गर्दै उहाँले भन्नुभयाे, ‘अघिल्लो दिन त्यतिका मान्छेको ज्यान नगुमेको भए भोलिपल्ट यस्तो अवस्था आउने थिएन, जहाँसम्म उहाँहरूको संलग्नता थियो, त्यसको मात्रै जिम्मेवारी लिनुपर्छ।’

महामन्त्री शर्माले पार्टी कार्यालय तथा पार्टी संस्थापकको निवासमा भएको आगजनी घटनाप्रति पनि आपत्ति जनाउनुभयो।

देश र पार्टी अब पुरानै ढाँचामा सञ्चालन हुन नसक्ने उल्लेख गर्दै उहाँले नयाँ परिस्थितिअनुसार सोच र व्यवहार परिवर्तन आवश्यक रहेकोमा जोड दिनुभयो। ‘पार्टीको ड्राइभिङ सिटमा नजिकै रहेको नाताले दुवै महामन्त्री अघि बढ्नेछौँ,’ उहाँले भन्नुभयो, ‘त्यसको जिम्मेवारी पनि हामी लिन्छौँ।’

पुरानो सोच, व्यवहार र कार्यशैली कायम राखेर नयाँ परिस्थितिको सामना गर्न नसकिने उल्लेख गर्दै महामन्त्री शर्माले पार्टीभित्र मनोवृत्ति र चिन्तनमा परिवर्तन अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।