काठमाडौं, पुस २८ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फको बन्दसूचीबाट पञ्चा सिंहको नाम हटाएको छ । पार्टीले बन्दसूची परिमार्जन गर्दै ‘खस आर्य महिला’ समूहको क्रमसंख्या ४ मा रहेकी सिंहको नाम सूचीबाट हटाएको हो ।
पार्टीका अनुसार संगठनभित्रको जनशक्ति व्यवस्थापन तथा एकता प्रक्रियामा सामेल भएका अन्य राजनीतिक घटकहरूको समुचित व्यवस्थापन गर्नुपर्ने विशेष परिस्थितिका कारण बन्दसूचीमा परिमार्जन गरिएको हो । सोही निर्णयअनुसार संशोधित सूची निर्वाचन आयोगमा पुनः पेस गर्ने क्रममा पञ्चा सिंहको नाम हटाइएको जनाइएको छ ।
यस विषयमा पञ्चा सिंहले सार्वजनिक अपिल जारी गर्दै पार्टीको सांगठनिक निर्णयअनुसार आफ्नो नाम बन्दसूचीबाट हटेको जानकारी गराउनुभएकाे छ । उहाँले पार्टीकै तर्फबाट सम्पूर्ण प्रक्रिया आधिकारिक रूपमा सहजीकरण गरिएको स्पष्ट पार्दै यसका लागि आफू स्वयं निर्वाचन आयोगमा उपस्थित हुन नपर्ने जानकारी पनि दिनुभएको छ । ‘राजनीति केवल व्यक्तिगत अवसर प्राप्तिको माध्यम नभई त्याग, निष्ठा र जनसेवाको कठिन मार्ग हो,’ भन्दै सिंहले पार्टीको बृहत्तर हित र सांगठनिक आवश्यकताका अगाडि व्यक्तिगत पद र प्रतिष्ठा गौण हुने आफ्नो दृढ बुझाइ रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले आगामी निर्वाचनमा पार्टी र पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मतका साथ विजयी गराउन सबैलाई आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न अपिलसमेत गर्नुभएको छ । साथै, आफूप्रति देखाइएको सकारात्मक चासो र सद्भावप्रति कृतज्ञता व्यक्त गर्दै सिंहले पार्टीप्रतिको प्रतिबद्धता यथावत् रहने संकेत गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्