जनता टाइम्स

२८ पुष २०८२, सोमबार १३:०३

कांग्रेस विधान संशोधन प्रस्ताव : केन्द्रीय कार्यसमितिमा ४० जना युवा अनिवार्य


काठमाडौं, पुस २८ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विधान संशोधन गर्दै केन्द्रीय कार्यसमितिमा युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव अघि सार्नुभएको छ ।

विशेष महाधिवेशनमा पेस गरिएको प्रस्तावअनुसार केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिका २० जना र ३० वर्ष कटेर ४० ननाघेका २० जना गरी कुल ४० जना युवाको सहभागिता अनिवार्य रहने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

यसै गरी प्रदेश कार्यसमितिमा दुवै उमेर समूहबाट १०/१० जना प्रतिनिधि रहने, जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेश सभा क्षेत्र तथा पालिका कार्यसमितिमा न्यूनतम ६/६ जना र वडा कार्यसमितिमा न्यूनतम ४/४ जना युवाको सहभागिता सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।

महामन्त्री शर्माले केन्द्र र प्रदेश महाधिवेशनका प्रतिनिधित्वसम्बन्धी व्यवस्थासमेत संशोधनको प्रस्ताव गर्नुभएको छ । प्रस्तावअनुसार हरेक निर्वाचन क्षेत्रबाट न्यूनतम दुई महिला र न्यूनतम एक जना ३० वर्षमुनिको प्रतिनिधि रहने गरी जम्मा चार जना महाधिवेशन प्रतिनिधि चयन गर्नुपर्ने व्यवस्था गरिनेछ ।

पार्टी संगठनमा युवाको भूमिकालाई संस्थागत गर्दै नेतृत्वमा पुस्तान्तरणलाई मजबुत बनाउने उद्देश्यसहित यो विधान संशोधनको प्रस्ताव अघि सारिएको जनाइएको छ ।