काठमाडौं, पुस २८। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुक गम्भीर राजनीतिक संकटमा रहेको भन्दै पार्टीका सम्पूर्ण पङ्क्तिलाई एकताबद्ध, संगठित र सुदृढ भएर प्रतिनिधि सभा निर्वाचनमा अभियानकै रूपमा लाग्न हार्दिक अपिल गर्नुभएको छ ।
आज जारी अपिलमा कार्यवाहक सभापति खड्काले प्रतिनिधि सभा विघटनपछि देश अन्योल र अनिश्चितताको अवस्थामा पुगेको उल्लेख गर्दै लोकतन्त्र र संविधानको रक्षा अहिलेको प्रमुख दायित्व भएको स्पष्ट पार्नुभएको छ । उहाँले आगामी फाल्गुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनमार्फत संविधानलाई पुनः ‘लिकमा’ ल्याएर लोकतान्त्रिक संवैधानिक व्यवस्था सुचारु गर्न आवश्यक रहेको बताउनुभएको छ । ‘अहिले मुलुक गम्भीर अवस्थामा छ । देशको सर्वोच्च जननिर्वाचित संस्था प्रतिनिधि सभा विघटन भएको छ,’ अपिलमा भनिएको छ, ‘अन्योल र अनिश्चितताको वर्तमान अवस्थामा देश र लोकतन्त्रका बारेमा सर्वत्र चासो र चिन्ता व्याप्त छ ।’
कार्यवाहक सभापति खड्काले यस्तो परिस्थितिमा नेपाली कांग्रेसको भूमिका ऐतिहासिक रूपमा निर्णायक रहँदै आएको स्मरण गराउँदै पार्टीले विगतका विभिन्न कालखण्डमा कठिन परिस्थितिको सही मूल्याङ्कन गरी आफ्नो नेतृत्वमा मुलुकलाई निकास दिएको इतिहास रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले नेपाली कांग्रेसलाई राष्ट्रियता र लोकतन्त्रको ‘धरोहर’ का रूपमा चित्रण गर्दै वर्तमान अवस्थामा पार्टीको काँधमा फेरि एकपटक ठुलो ऐतिहासिक जिम्मेवारी आएको बताउनुभएको छ । ‘नेपाली कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित भएको हुँदा हाम्रो काँधमा फेरि एकपटक ऐतिहासिक जिम्मेवारी आएको छ,’ उहाँको अपिलमा उल्लेख छ ।
अपिलमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि आगामी २०८३ वैशाखमा हुने १५ औँ महाधिवेशनबाट पार्टीको नीतिमा आवश्यक परिमार्जन र नेतृत्वको सहज रूपान्तरण सम्भव हुने अवस्था सुनिश्चित रहेको पनि औँल्याइएको छ । त्यसैले अहिलेको प्राथमिकता आन्तरिक विवाद वा असहज अवस्था होइन, बरु निर्वाचनमा केन्द्रित भएर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनु पर्ने उहाँको जोड छ ।
‘तसर्थ, अहिले प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण पार्टी पङ्क्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक छ,’ कार्यवाहक सभापति खड्काले भन्नुभएको छ ।
उहाँले पार्टीभित्र देखिएको असहज र अन्योलको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई समाप्त पार्न सबै तहका नेता, कार्यकर्ता र संगठन जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभएको छ । अपिलमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यदेखि महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा तहका पदाधिकारी तथा सदस्यहरू, भ्रातृ र शुभेच्छुक संस्था तथा सहयोगी सबैलाई सम्बोधन गरिएको छ । ‘देशको विषम परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ,’ अपिलमा भनिएको छ ।
कार्यवाहक सभापति खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैलाई आग्रह गर्दै सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्नुभएको छ । उहाँको अपिलको अन्त्यमा ‘जय नेपाल !’ भन्दै पार्टी पङ्क्तिलाई लोकतन्त्रको रक्षा र संविधानको कार्यान्वयनका लागि जिम्मेवारीबोधका साथ अघि बढ्न आह्वान गरिएको छ ।
खड्काको यो अपिल प्रतिनिधि सभा विघटनपछि देशभर चर्किएको राजनीतिक बहस, निर्वाचनको तयारी र प्रमुख दलहरूको भूमिकामाथि उठिरहेका प्रश्नहरूको सन्दर्भमा आएको हो । कांग्रेसभित्र देखिएको मतभेद र असहज अवस्थाबिच आएको यस अपिललाई पार्टी एकता सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ ।














प्रतिक्रिया दिनुहोस्