जनता टाइम्स

२८ पुष २०८२, सोमबार २१:०३

यो सरकार विदेशी प्रभुको आशीर्वादमा टिकेको हो, यसले देशलाई बरबादीतर्फ लैजाँदै छ : महेश बस्नेत


काठमाडौं, पुस २८ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले मुलुकमा बढ्दो अराजकता र वर्तमान सरकारको असफलताविरुद्ध एमाले सशक्त रूपमा सडकमा उत्रिने बताउनुभएको छ।

सोमबार काठमाडौंमा आयोजित एमाले वाग्मती प्रदेश कमिटी र वाग्मती सम्पर्क कमिटीको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले नयाँ दल र स्वतन्त्रको नाममा देखिएका गतिविधिले अराजकता निम्त्याएको दाबी गर्नुभयो। त्यस्तो अराजकतालाई परास्त गर्न एमालेले ‘नेसनल भोलेन्टियर फोर्स’ परिचालन गर्ने निर्णय गरेको उहाँको भनाइ थियो।

सचिव बस्नेतले आगामी माघ ९ गते काभ्रेको धुलिखेलमा १० हजार युवालाई भेला गराएर ‘नेसनल भोलेन्टियर फोर्स’ औपचारिक रूपमा घोषणा गरिने जानकारी दिनुभयो। उहाँले यो फोर्स निर्वाचनमा एमालेको मत रक्षा गर्न र अराजक गतिविधि फैलाउनेहरूलाई नियन्त्रण गर्न परिचालन गरिने स्पष्ट पार्नुभयो।

उहाँले ‘एक टोल, एक सय यूथ’ को अवधारणाअनुसार प्रत्येक टोलमा बुथ सुरक्षा समिति गठन गरिने बताउनुभयो। ‘हाम्रा नेतामाथि आक्रमण र लखेट्ने गतिविधि अब सह्य हुँदैन, सिंहदरबार जलाउनेसम्मका गतिविधि गर्नेहरूलाई जनताको साथ लिएर नियन्त्रण गर्नुपर्ने अवस्था आएको छ,’ उहाँले भन्नुभयो।

सम्बोधनका क्रममा सचिव बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन साहलगायतका नयाँ राजनीतिक शक्तिप्रति कडा टिप्पणी गर्नुभयो। उहाँले रवि लामिछाने र बालेन शाहहरू सामाजिक सञ्जालको भ्रम र विदेशी शक्तिको आडमा उभिएका ‘पानीका फोका’ जस्तै भएको आरोप लगाउनुभयो। ‘रवि लामिछानेले पार्टी खोलेर राष्ट्रियता बलियो बनाउनुभएको होइन, बरु राष्ट्रिय स्वाभिमान कमजोर पार्ने काम गर्नुभएको छ,’ उहाँले भन्नुभयो।

बस्नेतले नयाँ शक्तिहरू एमालेलाई रोक्न खडा गरिएको भन्दै त्यसको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो। बस्नेतले वर्तमान सरकार विदेशीको इसारामा चलेको र देशको अर्थतन्त्र तथा राष्ट्रियता ध्वस्त पारेको आरोप लगाउँदै माघ ४ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने घोषणा गर्नुभयो। भृकुटीमण्डपबाट सुरु हुने उक्त प्रदर्शनमा २० हजारभन्दा बढी कार्यकर्ता उतार्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। ‘यो सरकार विदेशी प्रभुको आशीर्वादमा टिकेको हो, यसले देशलाई बरबादीतर्फ लैजाँदै छ, त्यसैले एमाले अब टुलुटुलु हेरेर बस्दैन,’ उहाँले भन्नुभयो।

पार्टीभित्रको आन्तरिक व्यवस्थापनबारे बोल्दै सचिव बस्नेतले टिकटका लागि नेताको घर धाउने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो। भूगोल र सम्पर्क कमिटीबिचको दूरी हटाउँदै एकताबद्ध भएर एमालेको एकल बहुमत सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ थियो। ‘अब नेता रिझाएर होइन, काम र नतिजा देखाएर मात्रै टिकट पाइन्छ, जसले जित्ने आधार बनाउँछ, उसैले टिकट पाउँछ,’ सचिव बस्नेतले स्पष्ट पार्नुभयो।