जनता टाइम्स

२९ पुष २०८२, मंगलवार १२:५०

नेपाली कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका अन्तिम चरणमा, मतदाता नामावली सार्वजनिक हुने तयारी


काठमाडौं, पुस २९। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन कार्यतालिका तयार गरेको छ । समितिले कार्यतालिका सार्वजनिक गर्नु अघि मतदाता नामावली प्रकाशनको अन्तिम तयारी गरिरहेको जनाएको छ ।

निर्वाचन समितिका एक सदस्यका अनुसार मृतक तथा पार्टी परित्याग गरेका प्रतिनिधिबाहेक सबै महाधिवेशन प्रतिनिधिको नाम समेटेर मतदाता नामावली सार्वजनिक गरिनेछ । तयार पारिएको निर्वाचन तालिकाअनुसार दिउँसो साढे १ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ भने बेलुका ८ बजेर ५५ मिनेटदेखि मतदान प्रक्रिया सुरु हुने गरी तालिका बनाइएको छ ।

बन्दसत्रमा हाल समूहगत छलफल जारी रहेकाले सोही सेड्युलसँग समन्वय हुने गरी निर्वाचन कार्यतालिका तय गरिएको ती सदस्यले बताउनुभयाे ।

यसअघि विशेष महाधिवेशनले खम्बबहादुर खाती नेतृत्वको निर्वाचन समिति भङ्ग गरी डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) का अध्यक्ष तथा वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा नयाँ निर्वाचन समिति गठन गरिसकेको छ ।