काठमाडौं, पुस २९ । विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको छ। पार्टी संस्थापन पक्षको सहमति बिना महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बोलाउनु भएको विशेष महाधिवेशन भृकुटीमण्डपमा जारी रहँदा पार्टीभित्रको तनाव झन् चर्किएको छ।
विशेष महाधिवेशनबाट नेतृत्व चयनको दबाब बढिरहेको अवस्थामा कांग्रेस संस्थापन पक्षले महाधिवेशन बोलाउने नेताहरूमाथि कारबाही गर्ने अन्तिम तयारी थालेको छ। यही विषयमा निर्णय लिन आज दिउँसो संस्थापन पक्षले केन्द्रीय समिति बैठक बोलाएको थियो। तर बैठक साँझ केही बेर बसेपछि बिना निष्कर्ष टुंगिएको छ। बैठक भोलि बिहान ८ बजे पुनः बस्ने बताइएको छ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार रातभरिमा सहमतिको सम्भावना खोज्न बैठक स्थगित गरिएको हो। ‘केही सहमति बन्ला कि भन्ने अपेक्षाले बैठक भोलिसम्मका लागि रोकेका हौँ,’ उहाँले बताउनुभयो।
उता विशेष महाधिवेशन आयोजक पक्षले नेतृत्व चयनको अन्तिम तयारी सुरु गरिसकेको छ। नेतृत्वका लागि मनोनयन दर्ताको प्रक्रिया सम्पन्न भइसकेको र आज रातिदेखि नै मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
संस्थापन पक्षले आज तोकिएको मतदान अघि बढ्छ कि बढ्दैन भन्ने विषयमा भोलिसम्म निर्णय लिने तयारी गरिरहँदा विशेष महाधिवेशन आयोजक पक्ष भने निर्वाचन कार्यक्रमसहित अघि बढेर संस्थापन पक्षमाथि दबाब सिर्जना गर्ने रणनीतिमा देखिएको छ। दिनभरि सहमतिका लागि प्रयास भए पनि कुनै ठोस निकास ननिस्कँदा कांग्रेसभित्रको संकट थप गहिरिँदै गएको छ।













प्रतिक्रिया दिनुहोस्