सिन्धुली, पुस ३० । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट भएको छ। हतियारसहित आएका लुटेरा समूहले मंगलबार साँझ बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर लुटपाट गरेको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरण अनुसार लुटेरा समूहले बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको बताइएको छ। घटनापछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा लुटपाटमा प्रयोग गरिएको सवारी साधन र केही रकम नियन्त्रणमा लिन सफल भएको घ्याङलेख गाउँपालिका–२ का वडा अध्यक्ष रोशन भ्लोनले जानकारी दिनुभयो।
उहाँका अनुसार लुटपाटमा प्रयोग गरिएको सवारी साधन गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत पर्ने टुनी भञ्ज्याङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। यद्यपि, लुटपाटमा संलग्न व्यक्ति भने हालसम्म फेला पार्न नसकिएको उहाँले बताउनुभयो।
लुटिएको केही रकम बोरामा फेला परेको भए पनि कति रकम बरामद भएको हो भन्ने यकिन हुन बाँकी रहेको वडा अध्यक्ष भ्लोनको भनाइ छ। लुटपाटमा प्रयोग गरिएको बा ३ डी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेटको गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो।
सयौँको संख्यामा स्थानीयवासी र प्रहरी टोलीले त्यस क्षेत्रको वन इलाकामा लुटेराको खोजी कार्य जारी राखेका छन्। हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्डको हातखुट्टा बाँधी पेस्तोल देखाउँदै हातमा खुकुरी प्रहार गरी लुटपाट गरेको जनाइएको छ।
नियन्त्रणमा लिइएको सवारी साधन र बरामद रकम हाल इलाका प्रहरी कार्यालय बस्तिपुरमा राखिएको छ। साँझ करिब साढे ७ बजे लुटपाट भएको उक्त बैंक घ्याङलेख गाउँपालिकाको सदरमुकाम बस्तिपुरमा रहेको छ भने बैंक र इलाका प्रहरी कार्यालयबीचको दूरी करिब २०० मिटर दरीमा रहेकाे छ ।












प्रतिक्रिया दिनुहोस्