सिन्धुली, पुस ३० ।सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारमा रहेको नेपाल एसबीआई बैंक शाखामा भएको लुटपाट घटनामा प्रहरीले लुटिएको रकममध्ये दुई बोरा पैसा बरामद गरेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मंगलबार साँझ करिब ७ बजेतिर बनेपातर्फबाट टाटा सुमोमा आएका करिब पाँच जना नकाबधारी समूहले बैंकमा सशस्त्र लुटपाट गरेको अनुमान गरिएको छ। लुटपाटमा प्रयोग भएको टाटा सुमो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद गरिएकाे पैसा गन्न बाँकी छ ।
लुटेराहरूले बैंकका सुरक्षागार्डलाई बाँधेर पेस्तोल देखाउँदै खुकुरी प्रहार गरी घाइते बनाएको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनामा बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटिएको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
लुटपाटमा प्रयोग गरिएको सवारी साधनसहित एक जनालाई स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिन सफल भएका छन् । बा ३ डी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेट भएको टाटा सुमो बरामद गरिएको हो।
घटनापछि लुटेराहरू जंगलतर्फ फरार भएकाले त्यस क्षेत्रलाई केन्द्रमा राखी व्यापक खोजतलास अभियान सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। बरामद गरिएको रकम र नियन्त्रणमा लिइएको सवारी साधन हाल इलाका प्रहरी कार्यालय बस्तिपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्