जनता टाइम्स

३० पुष २०८२, बुधबार १९:१६

एमाले वाग्मती प्रदेशको विशेष युवा भेला सम्पन्न, माघ ४ को जनप्रदर्शनमा सहभागिता सुनिश्चित गर्ने निर्णय


काठमाडौं, पुस ३०। नेकपा (एमाले) वाग्मती प्रदेश जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित वाग्मती प्रदेश स्तरीय विशेष युवा भेला विशेष योजनासहित सफलतापूर्वक सम्पन्न भएको छ।

भेलाले माघ ४ गते दिउँसो १२ बजे काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना हुने २०औँ हजारको जन–प्रदर्शनलाई सफल बनाउने निर्णय गर्दै व्यापक युवाको सहभागिता सुनिश्चित गर्ने निष्कर्ष निकालेको छ। भेलामा उक्त प्रदर्शनलाई प्रभावकारी बनाउन संगठनात्मक तयारी, परिचालन र जिम्मेवारी बाँडफाँटसम्बन्धी विषयमा समेत छलफल भएको छ।

उक्त जन–प्रदर्शनमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभयो । भेलाले अध्यक्ष ओलीको उपस्थितिमा हुने प्रदर्शनलाई पार्टीको नीतिगत धारणा र लोकतान्त्रिक अभियानसँग जोडेर प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

आयोजकका अनुसार भेला मार्फत युवाहरूलाई लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन तथा राष्ट्रिय स्वाधीनताका सवालमा सक्रिय र संगठित भूमिकामा उभ्याउने उद्देश्य लिइएको छ ।