जनता टाइम्स

३० पुष २०८२, बुधबार १९:३५

रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति सुद्धिकरणको अभियोग फिर्ता


काठमाडौं, पुस ३० । महान्यायाधिवक्ता कार्यालयले पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर गरिएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिल कार्यालयहरूलाई स्वीकृति दिएको छ।

महान्यायाधिवक्ता कार्यालयको यस निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा चलिरहेका संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता हुने भएका छन्। कार्यालयका अनुसार संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग फिर्ता लिने गरी अभियोगपत्र संशोधन गर्न स्वीकृति दिइएको हो।

यद्यपि, सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने महान्यायाधिवक्ता कार्यालयले स्पष्ट गरेको छ। उक्त मुद्दामा कुनै पनि किसिमको अभियोग फिर्ता वा संशोधनको निर्णय नभएको जनाइएको छ।

महान्यायाधिवक्ता कार्यालयले बुधबार चारवटा जिल्ला अदालतमा दायर अभियोगपत्र संशोधन गर्न स्वीकृति दिने निर्णय गरेको थियो। यस निर्णयपछि जिल्ला अदालत कास्कीमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुनेछ भने रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा चलिरहेको संगठित अपराधको मुद्दा पनि फिर्ता हुने भएको छ।

तर, चितवन जिल्ला अदालतमा रवि लामिछानेविरुद्ध संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कुनै पनि मुद्दा दर्ता नभएकाले त्यहाँ अभियोगपत्र संशोधनसम्बन्धी कुनै निर्णय नलिइएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ।