जनता टाइम्स

३० पुष २०८२, बुधबार १९:५६

कानुनी राज्य कमजोर पार्ने पपुलिष्ट राजनीति स्वीकार्य हुँदैन : मीनबहादुर शाही


काठमाडौं, पुस ३०। नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं प्रचार संयोजक मीनबहादुर शाहीले कानुनी राज्यको आधार कमजोर बनाउने कुनै पनि किसिमको पपुलिष्ट राजनीति स्वीकार्य नहुने स्पष्ट गर्नुभएको छ। उहाँले विधि, नियम र संस्थागत प्रणालीमा आधारित जिम्मेवार राजनीतिक अभ्यासबाट मात्रै दिगो राष्ट्र निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालयमा उहाँकाे स्वागतमा आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रको मजबुतीका लागि कानुनी शासनको सम्मान अनिवार्य रहेको उल्लेख गर्नुभयो । उहाँले क्षणिक लोकप्रियताका नाममा राज्यका संस्थाहरूलाई कमजोर पार्ने प्रवृत्तिले दीर्घकालीन रूपमा मुलुकलाई नै क्षति पुर्‍याउने बताउनुभयो।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे लगायत पदाधिकारी तथा सदस्यहरूले उहाँको राजनीतिक भूमिकाको प्रशंसा गर्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता र जिम्मेवार राजनीतिक अभ्यासका पक्षमा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीहरूले कानुनी राज्य, स्वतन्त्र प्रेस र संस्थागत लोकतन्त्रको संरक्षणका लागि राजनीतिक नेतृत्व र सञ्चारकर्मीबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो ।