जनता टाइम्स

३० पुष २०८२, बुधबार २१:४९

कांग्रेसमा कडा अनुशासनात्मक कदम : गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मंसूरलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन


काठमाडौं, पुस ३० । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी विधान विपरीत गतिविधि गरेको ठहर गर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सह–महामन्त्री फरमुल्लाह मंसूरलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने कडा निर्णय गरेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा पुस २९ र ३० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले विधानको व्यवस्था अनुसार बाधा अड्काउ फुकाउँदै अनुशासनात्मक कारबाही गर्ने निर्णय गरेको हो।

बैठकले यसअघि केन्द्रीय कार्यसम्पादन समितिले विभिन्न मितिमा गरेका निर्णयहरू अनुमोदन गर्नुका साथै नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) का केही धाराहरू कार्यान्वयनमा देखिएका बाधा अड्काउ फुकाउने निर्णय गरेको छ। सो निर्णयअनुसार केन्द्रीय कार्यसमितिलाई पार्टीका सबै तहमा अनुशासनसम्बन्धी कारबाही गर्ने अधिकार स्पष्ट रूपमा प्रत्याभूत गरिएको छ।

कांग्रेसले पार्टीको विधान, नीति, आचारसंहिता र केन्द्रीय निकायका निर्णयको ठाडो उल्लंघन भएको भन्दै सम्बन्धित पदाधिकारीहरूमाथि अपर्झट अनुशासनात्मक कारबाही गर्नु परेको जनाएको छ। पार्टीका अनुसार विशेष महाधिवेशनसम्बन्धी कार्यविधि पारित गर्ने, निर्वाचन समिति गठन गर्ने, निर्वाचन तालिका सार्वजनिक गर्ने र पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले उम्मेदवारी दर्ता गराएको विषय विभिन्न सञ्चार माध्यममार्फत पुष्टि भएको छ।

यसैगरी, केन्द्रीय कार्यसमितिको मिति २०८२/८/१५ र केन्द्रीय कार्यसम्पादन समितिको मिति २०८२/९/१८ को निर्णय उल्लंघन गर्दै महामन्त्रीद्वयको हस्ताक्षरबाट नियमित महाधिवेशन स्थगन तथा विकल्पमा विशेष महाधिवेशन गर्ने सूचना जारी गरिएको भन्दै पार्टीले गम्भीर आपत्ति जनाएको छ।

यी सबै कार्यलाई पार्टीको आदर्श, सिद्धान्त, विधान र आचारसंहिताविपरीत ठहर गर्दै विधानको धारा ३४ र धारा ५० को व्यवस्था अनुसार गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मंसूरलाई आजकै मितिदेखि लागू हुने गरी पार्टी सदस्यतासमेत नरहने गरी पाँच वर्षका लागि निष्काशन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, कांग्रेसले पछिल्ला दिनमा ‘तथाकथित विशेष महाधिवेशन’ भन्दै असहमति जनाउँदै आयोजना गरिएका गतिविधि, उत्तेजक अभिव्यक्ति र पार्टी हित विपरीतका क्रियाकलापलाई जिम्मेवार पार्टी सदस्यका लागि शोभनीय नहुने स्पष्ट गरेको छ। पार्टीले यस्ता गतिविधिमा सहभागी नहुन तथा सहभागी भइसकेकाहरूलाई यथाशीघ्र पार्टीको मूल धारमा फर्किन आह्वान गर्दै घोषित १५औँ महाधिवेशनका कार्यक्रम सफल पार्न र २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने अभियानमा सक्रिय हुन आग्रह गरेको छ।