काठमाडौं, माघ १ । नेकपा (एमाले) का सचिव तथा वाग्मती प्रदेश इन्चार्ज महेश बस्नेतले नेपाली कांग्रेसका नेता गगन थापा नेता नभई ‘अभिनेता’ भएको टिप्पणी गर्नुभएको छ।
प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले रवि लामिछानेसँग सम्बन्धित विषयमा गगन थापाबाट आएका अभिव्यक्तिले त्यसको पुष्टि भएको दाबी गर्नुभयो। बस्नेतले गगन थापाका पछिल्ला भनाइहरूले देशको समसामयिक राजनीतिक गतिविधिको वास्तविकता छर्लङ्ग पारेको दाबी गर्नुभयाे।
एमाले सचिव बस्नेतले माघ ४ गते काठमाडौँको भृकुटीमण्डपमा हजारौँ युवाको सहभागितामा विशेष निर्वाचन अभियान सुरु गरिने जानकारी पनि दिनुभयो। उक्त अभियान युवामुखी राजनीतिक सन्देशसहित अघि बढाइने उहाँको भनाइ थियो। कार्यक्रममा एमाले अध्यक्ष केपी ओली समेत सहभागि हुने उहाँले जानकारी दिनुभयाे ।
उहाँले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिलाई खेलौनाको रूपमा लिएको आरोप लगाउँदै यसले देशको राजनीतिक स्थायित्वमा गम्भीर चुनौती सिर्जना गरेको बताउनुभयो। उहाँले यो अवस्था डरलाग्दो रहेको उल्लेख गर्दै उनीहरू विदेशी शक्तिबाट परिचालित भएको दाबीसमेत गर्नुभयो।
यसैक्रममा एमाले सचिव बस्नेतले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की विदेशी दलालको आदेश र नियन्त्रणमा देश जलाउने तथा जेल तोड्ने गतिविधिलाई भित्री सहयोग गरिरहेको आरोप लगाउनुभयो। त्यसकै परिणामस्वरूप रवि लामिछानेसँग सम्बन्धित संगठित अपराधको मुद्दा फिर्ता लिइएको उहाँको दाबी छ। ‘ सुशीला कार्की नेतृत्वकाे यो सरकार रवि लामिछानेको चाकरी गर्न लागेको देखिन्छ’, उहाँले भन्नुभयो।
बस्नेतले नेपाली कांग्रेसको सम्भावित विभाजन लोकतन्त्रका लागि खतरनाक हुने टिप्पणी गर्दै, यदि नेकपा (एमाले) ले कुनै गठबन्धन गर्यो भने त्यो संस्थापन पक्षसँगै हुने स्पष्ट पार्नुभयो। कांग्रेस फुट्दा एमालेलाई तत्कालिक लाभ हुने भए पनि त्यबाट खुसी मान्नुपर्ने अवस्था नरहेकाे उहाँले स्पष्ट पार्नुभयाे ।
पत्रकार भेटघाट कार्यक्रममा उहाँले वर्तमान राजनीतिक अवस्था थप अस्थिरतर्फ जान नदिन सबै पक्ष सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले युवाहरूलाई राष्ट्र र लोकतन्त्रको संरक्षणमा जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान पनि गर्नुभयो।
एमाले सचिव बस्नेतले पार्टी चुनावमा होमिन तयार रहे पनि अहिले चुनावको वातावरण नबनेको बताउनुभयो। अपराधी र हतियार बाहिरै रहेका, सेना र प्रहरीको मनोबल कमजोर बनाइएको अवस्थाका कारण तत्काल चुनाव सम्भव नभएको उहाँको भनाइ थियो।
उहाँले सरकारले चुनाव गर्ने कुनै योजना नबनाएको दाबी गर्दै, रवि लामिछानेलाई मजबुत बनाउने उद्देश्यले सरकार बैशाख वा जेठतिर चुनाव सार्ने तयारीमा रहेको आरोप पनि लगाउनुभयो।













प्रतिक्रिया दिनुहोस्