काठमाडौं, माघ १ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा उहाँले आगामी निर्वाचनमा एमालेसँग चुनावी सहकार्यको प्रस्ताव राख्नुभएको बताइएको छ ।
डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रलोपा पछिल्लो समय गठन भएको पार्टी हो । शर्माले हालै भक्तपुरको गुण्डु पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको हो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पश्चिमबाट चुनाव लड्ने घोषणा गरे लगत्तै शर्मा ओली भेट्न गुण्डु पुग्नु भएकाे थियाे ।
ओली र शर्माबीचको छलफल एक्लाएक्लै भएको कारण वार्ताको विस्तृत विवरण बाहिर नआए पनि शर्माले केही निर्वाचन क्षेत्र केन्द्रित सहकार्यको प्रस्ताव अघि सारेको बुझिएको छ । स्रोतका अनुसार ओली पनि जनार्दन शर्मा र नेत्रविक्रम चन्द ‘विप्लव’ लाई केही क्षेत्रमा सघाउन सकारात्मक देखिनुभएको छ ।
विशेषगरी रुकुम पश्चिममा जनार्दन शर्मालाई सहयोग गर्ने विषयमा ओली सकारात्मक रहेको बताइन्छ । एमालेले सकेसम्म सूर्य चिह्नबाटै चुनाव लड्न शर्मालाई आग्रह गरेको जानकारी पनि प्राप्त भएको छ । यद्यपि, शर्माको पार्टी प्रलोपाे काे चुनाव चिह्न भने ‘आँखा’ रहेको छ ।
रुकुम पश्चिम, रोल्पा, कालिकोटलगायतका जिल्लामा एमालेले जनार्दन शर्मा, नेत्रविक्रम चन्दलगायत समूहलाई साथमा लिएर चुनावमा जाने सम्भावना देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्