जनता टाइम्स

१ माघ २०८२, बिहीबार १४:०६

कांग्रेस एकताका प्रयास सफल भएनन्, अब निर्वाचनमा इतिहासको गौरव जोगाउनुपर्ने दायित्व छ : डा. शेखर कोइराला


काठमाडौं, माघ १ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्नुभएको छ । तर यसका लागि दोषी–निर्दोषको बहस गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल बनाउन आफू इच्छुक नरहेको उहाँले स्पष्ट पार्नुभएको छ ।

एक सन्देशमार्फत कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै डा. कोइरालाले पार्टी एकताका क्रममा आफूहरू सबै कतै न कतै चुकेको स्वीकार गर्न कुनै संकोच नरहेको बताउनुभयो । यसबीच घटेका घटनाहरूको साक्षी भएकाले ती सबैको वस्तुपरक समीक्षा र व्यक्तिको भूमिकाको मूल्याङ्कन इतिहासकै जिम्मा लगाउने उहाँको भनाइ छ ।

उहाँले दृश्यमा देखिएका र नदेखिएका अनेक अन्तरविरोध, राजधानी केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्रका तानाबानाले कांग्रेसलाई कमजोर पार्ने प्रयास रोक्न नसकिएको उल्लेख गर्नुभयो । कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनुपर्छ भन्नेमा सबैको इमानदार प्रयास भए पनि त्यो सम्भव हुन नसकेको उहाँले बताउनुभयो ।

डा. कोइरालाले यस्तो कठिन घडीमा महामानव बीपी कोइरालालाई स्मरण गर्नुपर्ने बताउँदै बीपीको नेतृत्वमा जीवनको बाजी लगाएर लोकतन्त्रको संघर्षमा होमिएका लाखौं कार्यकर्ताको योगदान स्मरण गर्नुपर्नेमा जोड दिनुभयो । केही व्यक्ति र समूहले बीपीलाई छाडेर गएको प्रसंग उल्लेख गर्दै उहाँले बीपीले यसलाई ‘नियतिको खेल’ भनेर व्याख्या गर्ने गरेको स्मरण गर्नुभयो ।

बीपी कोइराला नियतिमा विश्वास गर्ने नेता भएको उल्लेख गर्दै डा. कोइरालाले कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नु पनि नियतिको कठोर सत्यका रूपमा आफूले बुझेको बताउनुभयो । अब कांग्रेस सामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो पार्टी इतिहासको गौरव जोगाउने ठूलो जिम्मेवारी रहेको उहाँको भनाइ छ । यसका लागि संगठनात्मक ऊर्जा प्रस्फुटन हुनुपर्ने र त्यो कांग्रेस एकताबाट मात्रै सम्भव हुने उहाँले उल्लेख गर्नुभयो ।

कांग्रेस आम कार्यकर्ताले निर्माण गरेको पार्टी भएको स्मरण गराउँदै डा. कोइरालाले साझा इतिहास, साझा नेता र शहिदहरूको बलिदानबाट प्रेरणा लिएर नेपाल र नेपालीको साझा भविष्य निर्माण गर्नुपर्ने बताउनुभयो । यही पार्टीभित्र बसेर देशको भविष्य निर्माण गर्नु अहिलेको आवश्यकता भएको उहाँको धारणा छ ।

उहाँले विगतमा पार्टी विभाजन हुँदा पनि नेपाली जनताले कांग्रेसप्रतिको भरोसा गुमाउन नदिएको उल्लेख गर्दै अब फेरि अग्रज नेताहरूको मार्गदर्शन र शहिदहरूको बलिदान सम्झेर जनताको घरदैलोमा पुगेर भोट माग्नुपर्ने समय आएको बताउनुभयो ।

समय छोटो भए पनि कांग्रेसको चुनावी अभियानमा सकेसम्म कार्यकर्ताको घरआँगनमा पुग्ने प्रयास गर्ने प्रतिवद्धता जनाउँदै डा. कोइरालाले पार्टीभित्र आवश्यक सुधारका प्रक्रिया निरन्तर चलिरहने पनि स्पष्ट पार्नुभयो । उहाँले सबैलाई कांग्रेसमा फर्कन आह्वान गर्दै भन्नुभयो, ‘यहाँ जित–हार कसैको होइन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौं ।’