जनता टाइम्स

१ माघ २०८२, बिहीबार १६:४६

दल बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शङ्कर पोखरेल


काठमाडाैं, माघ १ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलहरू बलिया भए मात्र लोकतन्त्र सबल र स्थिर बन्ने बताउनुभएको छ ।

दाङ प्रेस चौतारीले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले लोकतान्त्रिक पद्धतिलाई मजबुत बनाउन आवधिक निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले गत भदौ २३ र २४ गते भएका घटनालाई असामान्य ठहर गर्दै प्रहरी र अदालतजस्ता संवेदनशील निकायमाथि आक्रमण हुनु सामान्य विषय नभएको बताउनुभयो । ‘विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताबाटै देश समृद्धितर्फ अघि बढ्न सक्छ’, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले लोकतन्त्र, शान्ति–सुरक्षा र कानुनी राज्यको रक्षा गर्न नेकपा एमाले गम्भीर र प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । साथै जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार भएका कैदीबारे गम्भीर छानबिन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले राजनीतिक दलहरू जनताबीच निर्वाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै आगामी निर्वाचनमा एमालेले १  सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको जानकारी पनि दिनुभयो ।