काठमाडौं, माघ १ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा रहेको पदाधिकारी टोलीले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।
सभापति थापा सहितको टोली कानुनविद्हरूसहित निर्वाचन आयोग पुगेर कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष पार्टीसम्बन्धी विवरण यथाशीघ्र अद्यावधिक गरिदिन औपचारिक अनुरोध गरेको हो ।
सो अवसरमा सभापति थापाले निर्वाचनको समय नजिकिँदै गएकाले पार्टीको कानुनी विवरण अद्यावधिक हुनु अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले कानुनी प्रक्रिया पूरा भइसकेको भन्दै आयोगबाट आवश्यक सहजीकरणको अपेक्षा पनि व्यक्त गर्नुभयो ।
यसैबीच, २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन–पत्रमा प्रयोग हुने आधिकारिक हस्ताक्षर परिवर्तन गर्नसमेत सभापति थापाले निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । विशेष महाधिवेशनबाट सभापति निर्वाचित भइसकेकाले अब उम्मेदवारको मनोनयन–पत्रमा गगनकुमार थापाको हस्ताक्षर मान्य गरिनुपर्ने माग निवेदनमा उल्लेख छ ।
यसअघि नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको हस्ताक्षर भएको मनोनयन–पत्र मात्र मान्य हुने गरी आयोगमा व्यवस्था रहेको थियो । सोही आधारमा निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तथा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारको नामसमेत स्वीकार गरिसकेको छ ।













प्रतिक्रिया दिनुहोस्