जनता टाइम्स

२ माघ २०८२, शुक्रबार ११:१४

गगन समुहलाई चुनौती दिँदै निर्वाचन आयोग पुग्यो कांग्रेस संस्थापन, दलबलसहित कार्यबहाक सभापति पूर्णबहादुरको इन्ट्री


काठमाडौं, माघ २ । नेपाली कांग्रेसको संस्थापन पक्ष निर्वाचन आयोग पुगेको छ । महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश समुहले बिशेष महाधिवेशन गरेर आयोगमा आधिकारिताको दावी गरेको भोलिपल्ट कार्यबहाक सभापति पूर्णबहादुर खडकाको नेतृत्वमा दलबलसहित संस्थापन पक्ष पुगेको हो ।

सभापति शेरबहादुर देउवा नेतृत्वको समूहका नेताहरूले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहने दाबी गर्दै आयोगमा आवश्यक कागजात पनि बुझाएका छन । निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरू डा शशांक कोईराला, मिन विश्वकर्मा,नैनसिंह महर लगायतका ठूलो संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति छ ।

यसअघि बिहीबार गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । गगन थापा सभापतिसहितका नवनिर्वाचित पदाधिकारीहरूले विशेष महाधिवेशन विधानसम्मत रहेको र बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न भएको जिकिर गर्दै आधिकारिकता दाबी गर्नुभएको थियो । विशेष महाधिवेशनबाट गगनको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएपछि देउवा पक्षले थापासहितका नेताहरूलाई कारबाही गरेको थियो ।

दुवै पक्षले निर्वाचन आयोगमा आफूलाई आधिकारिक दाबी गर्दै पत्र र कागजात बुझाएका छन् । निर्वाचन आयोगले दुवै पक्षको दाबी अध्ययन गरिरहेको जनाएको छ ।
नेता कार्यकर्ताको भीड बढ्न थालेपछि आयोगको सुरक्षा व्यवस्था कडा पारिएको छ ।