जनता टाइम्स

२ माघ २०८२, शुक्रबार १८:३१

प्रचण्डले कोही देखेनन छोरी रेणुजस्तो विकासप्रेमी नेता


चितवन, माघ २ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले छोरी रेणु दाहालजस्तो विकासप्रेमी नेता कोही नभएको सार्वजनिक घोषणा गर्नुभएको छ ।

छोरी रेणु नै प्रमुख रहेको चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको शुक्रवार उद्घाटनको क्रममा आफ्नो छोरी रेणु दाहाललाई विकासवादी र विकास प्रेमी रेणु भनेर जनताले नै स्थापित गरिसकेको भन्दै यस्तो उद्घोष गर्नुभएको हो । दाहालले रेणुलाई भरतपुरका जनताले विकास प्रेमी भनेर स्थापित गरेको ठोकुवा गर्नुभयो ।

‘रेणुको नाम अब विकासवादी रेणु, विकासप्रेमी रेणु भनेर स्थापित भएको छ । तपाईँहरूले स्थापित गर्नु भएको हो, मैले–हामीले गरेका होइनौँ । तपाईँहरूले स्थापित गरेको हो । यसलाई आदर्श मानेर अगाडि जान जरुरी छ,’ छोरीको प्रशंसा गर्दै दाहालले भन्नुभयो । सो क्रममा उहाँले सामाजिक सञ्जालमा भएको स्टन्टबाजीकै कारण २४ भदौमा राष्ट्र खरानी बनेको बताउनु भयो ।

‘सोसल मिडियामा स्टन्ट गरेकै भरमा चाहिँ मानिसहरूको दिमाग चाट्ने एउटा प्रक्रिया तपाईँहरूले देखिराख्नु भएकै छ । अब कहिलेकाहीँ मानिसहरूको दिमाग त्यस्तो स्टन्टबाजीप्रति भ्रमित हुने हो कि भन्ने चिन्ता छ । हाम्रो राष्ट्र झन्डै झन्डै अस्ति २४ भदौमा खरानी जस्तो भयो । यहाँ धेरै कुरा आए, तपाईँलाई सबैलाई थाहा छ, म भन्न चाहन्छु, त्यस्तै स्टन्टबाजहरूको कारणले भएको हो । त्यो कुनै विचार, सिद्धान्त, आदर्शका कारणले भएको होइन,’ दाहालले भन्नुभयो ।

अहिले पनि सतर्क नभए एकताबद्ध भएर सिद्धान्तहीन विचारहीन आदर्शहीन, निष्ठाहीन, होहल्लाको पछि लाग्यो भने देश दुर्घटनामा पर्न सक्ने उहाँको भनाई थियो । ‘अहिले पनि तपाईँ हामी सबै सतर्क भएनौँ भने तपाईँ हामी सबैले एकताबद्ध भएर सिद्धान्तहीन, विचारहीन आदर्शहीन, निष्ठाहीन, होहल्लाको पछि लाग्यो भने देश दुर्घटनामा पर्न सक्छ । म आफू पनि चितवनकै नागरिक हुनुको नाताले मैले कर्तव्य सम्झेको छु । तपाईँहरू सबैलाई अपिल गर्छु,’ दाहालले भन्नुभयो ।

समाजमा देखा परेको अराजकतालाई नियन्त्रण गर्न पनि सबै गम्भीर र जिम्मेवार हुनुपर्ने उहाँको भनाई थियो ।