जनता टाइम्स

१७ मंसिर २०७६, मंगलवार १६:०२

प्रदेश सरकार पारदर्शी नभएको आरोप


जनकपुरधाम, मंसिर १७

प्रदेश नं २ को सरकारमा विधि नभई व्यक्तिको वर्चश्व भएकाले लोकतन्त्रको मान्यता अन्योलमा परेको भन्दै ध्यानाकर्षण गराइएको छ । फ्रिडम फोरम र समृद्धि कन्सल्टेन्सी टे«डिङ एण्ड मिडिया सेन्टरद्वारा आज आयोजित छलफल कार्यक्रममा वत्ताहरुले प्रदेश सरकारका मन्त्रीहरू भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनुभयो ।

प्रदेश सरकार जनताप्रति जवाफदेही नभएको, योजना वितरणमा स्वेच्छाचारिता भएको, योजनाको कार्य सम्पन्न भए पनि कमिशनका कारण फछ्र्योट नगरिएको जनाउँदै वक्ताहरुले वस्तुगत माग एउटा र व्यवहार अर्को भएकाले आउने दिनमा सांसद र आमजनताबीच विश्वासको खाडल बढ्दै जाने चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्य रामअशीष यादव र परमेश्वर साहले केन्द्रीय सरकारले अधिकार कटौती गरेको गुनासो गर्नुभयो । प्रतिपक्षी दल नेकपा र नेपाली काँग्रेसका नेताहरुले आम जनताको अपेक्षा पूरा गर्न प्रदेश सरकार असफल रहेको आरोप लगाउनुभयो ।

फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले पारदर्शी संस्कृतिलाई जगदेखि नै हुर्काएर शासन प्रणालीसँग नागरिकलाई प्रत्यक्ष जोडी सहभागितामूलक लोकतन्त्रलाई यथार्थमा रूपान्तरण गर्न खुला सरकार साझेदारीको अवधारणा लागू हुनुपर्नेमा जोड दिनुभयो ।