काठमाडौं, पुस ३ । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले संसद् विघटनपछिको राजनीतिक घटनाक्रमलाई ‘भद्दा र पटक–पटक दोहोरिने नाटक’को संज्ञा दिँदै ती अभ्यासप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता बास्कोटाले संसद् विघटनपछि सडक दबाब, पुनःस्थापना र त्यसपछि नाम, मिनेट तथा घण्टासम्म तोकेर प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रियालाई संविधानसम्मत ठान्नेहरूको अवस्था अहिले ‘रुवाबासी हेर्नलायक’ बनेको टिप्पणी गर्नुभएको हो । ‘संसद् विघटनपछि सडक दबाब र पुनःस्थापनासँगै मिनेट र घण्टा मात्र होइन, नाम समेत तोकेर परमादेशी प्रधानमन्त्री बन्दा संविधानसम्मत देख्नेहरूको रुवाबासी हेर्न लायक देखियो,’ बास्कोटाले लेख्नुभएको छ ।
उहाँले यस्ता राजनीतिक अभ्यासले लोकतान्त्रिक मूल्य, विधि र संस्कारलाई कमजोर बनाएको दाबी गर्दै प्रश्न गर्नुभएको छ– ‘यी भद्दा पटक–पटक दोहोरिने नाटक सुन्न, देख्न र भोग्न नपर्ने राजनीतिक मूल्य–पद्धति कहिले व्यवहारमा आउला ?’
संसद् विघटनसम्बन्धी विवाद तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा उत्कर्षमा पुगेको थियो । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निश्चित समय तोकेर प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
पछिल्लो समय नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि देउवा पक्षले पार्टीभित्र षड्यन्त्र भएको आरोप लगाउँदै आन्दोलनको घोषणा गरेका छन् । सोही राजनीतिक पृष्ठभूमिमा बास्कोटाको यो अभिव्यक्ति आएको हाे ।
बास्कोटाको टिप्पणी संसद् विघटन, न्यायालयको भूमिका र सरकार गठन प्रक्रियालाई लिएर चलिरहेको राजनीतिक तथा संवैधानिक बहससँग जोडिएको छ । यी विषयमा दलहरूबीच फरक–फरक दृष्टिकोण रहँदै आएका छन् ।













प्रतिक्रिया दिनुहोस्