काठमाडौं, माघ ३। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उत्पन्न विवादका कारण काठमाडौं जिल्लाभरका उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । काठमाडौं–१ मा देखिएको आन्तरिक खिचातानीको असर अन्य निर्वाचन क्षेत्रमा समेत परेको हो ।
काठमाडौं–१ मा पार्टीका सह–कोषाध्यक्ष शोभित उप्रेती र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र दुवै जनाको उम्मेदवारी दाबी रहेपछि विवाद चर्किएको छ । क्षेत्रीय निर्वाचन समितिले पशुपतिशम्शेर राणालाई पहिलो र शोभित उप्रेतीलाई दोस्रो नम्बरमा सिफारिस गरेको थियो । तर राणाले उम्मेदवार नबन्ने घोषणा गरेपछि उप्रेतीले स्वतः आफ्नो दाबी अघि सार्नु भएको छ।
उता वरिष्ठ उपाध्यक्ष मिश्रले पनि काठमाडौं–१ बाट उम्मेदवारी दिने अडान कायम राख्नु भएको छ। मिश्र यसअघि सोही निर्वाचन क्षेत्रबाट दुई पटक पराजित भइसक्नु भएको छ भने यस पटक क्षेत्रीय समितिले उहाँको नाम सिफारिस गरेको थिएन । तर मिश्रले आफ्नै पहलमा बैठक बोलाएर आफ्नो नाम जिल्ला समितिमा पठाउनु भएको थियो ।
पार्टीभित्र विवाद थप चर्किने सङ्केत देखिएपछि राप्रपाले दुवै पक्षसँग छलफल गरी समाधान खोज्ने तयारी गरेको छ । पार्टीले आइतबार उप्रेती र मिश्रसहितको बैठक राखेर निर्णय लिने जनाएको छ । उपत्यकाका उम्मेदवारको टुङ्गो सोही बैठकबाट लगाइने केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्