जनता टाइम्स

३ माघ २०८२, शनिबार ११:४१

सिन्धुलीको घ्याङलेखमा बैङ्क डकैती प्रकरण : ७ अभियुक्त पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


सिन्धुली, माघ ३ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबिआई बैङ्क शाखामा भएको डकैती घटना योजनाबद्ध र संगठित अपराध भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस प्रकरणमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरी ठुलो परिमाणको नगद र हतियार बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गत पुस २९ गते साँझ करिब ७ः३० बजे डकैत समूहले बैंकभित्र प्रवेश गरी सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिँदै ३ करोड ७ लाख रुपैयाँ लुटेको थियो । खुकुरी देखाएर त्रास सिर्जना गरिएको र प्रतिकार गर्दा सुरक्षा गार्डमाथि प्रहार हुँदा उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घटनापछि तत्कालै इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली घटनास्थल पुगेको थियो । गार्ड र कर्मचारीलाई दुई फरक कोठामा बाँधिएको अवस्थामा उद्धार गरी उपचार र सुरक्षाको व्यवस्था मिलाइएको थियो । घटनालाई गम्भीर अपराध मानेर प्रहरी उपरीक्षकको नेतृत्वमा ५० जनाको विशेष टोली परिचालन गरिएको थियो ।

खोजतलासका क्रममा घटनास्थलबाट करिब सात किलोमिटर पूर्व लिपिखोलामा बि ए डि ०३९८ नम्बरको टाटा सुमो र चालक भगवत सिंह थापा पक्राउ परेका थिए । प्रारम्भिक सोधपुछमा विवाहको प्रयोजन भन्दै बनेपाबाट सवारी साधन रिजर्भ गरिएको खुलेको छ ।

त्यसै राति जंगलका विभिन्न स्थानमा लुकाइएको १ करोड ५० लाख रुपैयाँभन्दा बढी नगद बरामद गरिएको थियो । थप अनुसन्धानपछि अन्य चार जना पक्राउ परे र उनीहरूको बयानका आधारमा बाँकी रकमसमेत फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानले डकैतीको योजनामा स्थानीय दुई व्यक्तिको निर्णायक भूमिका रहेको देखाएको छ । घ्याङलेख–२ का छविलाल स्याङ्तान र चतुरमान बज्जुले असोज महिनादेखि बैङ्कको गतिविधि, सुरक्षा प्रबन्ध र रकमको अवस्थाबारे सूक्ष्म अध्ययन गर्दै योजना बनाएको खुलेको छ । स्याङ्तानलाई धरानबाट र बज्जुलाई स्थानीय जङ्गल क्षेत्रबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सवारी चालक भगवत सिंह थापा, सिन्धुलीका छविलाल स्याङ्तान र चतुरमान बज्जु, चितवनका शशाङ्क श्रेष्ठ, नुवाकोटका मिलन गिरी र विवेक मगर तथा एक जना १६ वर्षे नाबालक रहेका छन् । नाबालकको पहिचान कानुनी कारणले गोप्य राखिएको छ ।

यस प्रकरणमा हालसम्म २ करोड ६६ लाख ५५ हजार १ सय ७५ रुपैयाँ नगद, दुई थान खुकुरी, एक थान नक्कली प्लास्टिकको पेस्तोल, पाँच थान मोबाइल, नकाब तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

डकैती तथा संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ परेकाहरू विरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको छ । घटनापछि जिल्लाभर सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ ।