जनता टाइम्स

४ माघ २०८२, आईतवार ०८:३६

सिन्धुपाल्चोक–२ का एमाले उम्मेदवार शेरबहादुर तामाङको प्रतिबद्धता : ‘इमानको राजनीति गर्छु, बरु भोकै मर्छु, भ्रष्टाचार गर्दिन’ 


काठमाडौं, माघ ४। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले) का उम्मेदवार बन्नुभएको शेर बहादुर तामाङले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सुशासन र जनमुखी विकासलाई आफ्नो मूल एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिने घोषणा गर्नुभएको छ ।

एमालेबाट उम्मेदवारका रूपमा निर्णय भएपछि सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दै तामाङले आफू निष्ठा, इमानदारी र नैतिकताको बलमा जनतासँग निरन्तर उभिने स्पष्ट पार्नुभयो । ‘यो जिम्मेवारी व्यक्तिगत उपलब्धि होइन, जनताको विश्वास, आशा र साझा सङ्कल्पको प्रतिबिम्ब हो,’ उहाँले भन्नुभयो, ‘जनताको आवाज सांसदसम्म पुर्‍याएर न्याय, सुशासन र विकासका लागि दृढतापूर्वक उभिन्छु ।’

उम्मेदवार तामाङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यलाई व्यवहारमा उतार्न भ्रष्टाचार अन्त्य र सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुभएको छ । सबै सार्वजनिक पद धारण गर्नेहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन बनाउन पहल गर्ने, सबै सरकारी सेवा अनलाइन प्रणालीबाट सञ्चालन गर्ने, कमिसन नियन्त्रणका लागि कडा कानुन ल्याउने उहाँको घोषणा छ ।

त्यसैगरी उहाँले गाँजा खेतीको वैधानिकता, कोदोको रक्सीलाई ब्राण्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने, स्वास्थ्य बिमालाई शतप्रतिशत कार्यान्वयन गरी नागरिकको उपचार सुनिश्चित गर्ने र घरायसी प्रयोजनको विद्युत् निःशुल्क बनाउन संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ‘म भ्रष्टाचार गर्दिन, हुन पनि दिन्न-यो मेरो प्रतिबद्धता हो,’ तामाङले स्पष्ट पार्दै भन्नुभयो, ‘बरु जीवनमा भोकै मर्नेछु, तर जनता र देशको नाममा एक पैसा पनि भ्रष्टाचार गर्दिनँ ।’

अघिल्लो कार्यकालमा जनताको अपेक्षा शतप्रतिशत पूरा गर्न नसकेको स्वीकार गर्दै उहाँले सिन्धुपाल्चोकको शिर कहिल्यै निहुरिने काम नगरेको र भविष्यमा पनि नगर्ने दाबी गर्नुभयो । ‘निष्ठा, इमान, पारदर्शिता र जनताप्रतिको वफाकारिता नै मेरो राजनीतिक जीवनको मूल मन्त्र हो,’ उहाँको भनाइ छ ।

निष्ठाको राजनीति गर्ने एमालेका शालीन नेता तामाङले आफूलाई उम्मेदवार बनाउने पार्टी निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलसहित सिङ्गो पार्टी नेतृत्वप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । साथै मतदाता, शुभेच्छुक, कार्यकर्ता र समर्थकहरूलाई साथ, सहयोग र सुझावका लागि अपिल गर्नुभएको छ ।