काठमाडौं, माघ ४। नेकपा (एमाले) का नेता विष्णु रिमालले आसन्न आम निर्वाचनलाई पार्टीका लागि निर्णायक लडाइँको संज्ञा दिँदै टिकटको विषयभन्दा माथि उठेर एकताबद्ध हुन नेता–कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता रिमालले आम निर्वाचनमा पार्टीले संगठित रूपमा चुनाव लड्नु पर्ने उल्लेख गर्नुभएकाे छ। ‘हामी पार्टीका नेता–कार्यकर्ता पार्टीलाई जिताउन दिलोज्यानले सक्रिय हुन्छौँ-कोही उम्मेदवारको रूपमा, कोही परिचालक र प्रचारकको रूपमा,’ उहाँले लेख्नुभएको छ, ‘जुनसुकै हैसियतमा सक्रिय भए पनि हाम्रो भूमिका एउटै हो।’
उहाँले पार्टीभित्र एक लयमा अघि नबढ्दा न उम्मेदवारले जित्ने अवस्था रहने न त संगठनले जस पाउने स्पष्ट पार्नुभएकाे छ। ‘हामी एकताबद्ध हुन सकेनौँ भने न ‘लड्ने’ले जित्छ, न ‘लडाउने’ले नै श्रेय पाउँछ,’ उहाँको भनाइ छ ।
नेता रिमालले टिकट वितरणको विषयलाई अहिलेका लागि थाती राख्नुपर्ने धारणा राख्दै यसपटक अवसर नपाएकाले आगामी निर्वाचनमा पाउने उल्लेख गर्नुभएकाे छ । ‘यसपालि नपाउनेले अर्को पालि पाउँछ,’ उहाँले लेख्नुभएको छ, ‘यतिखेर धेरै कुरा मिलाउन बाँकी छन् र हामीमाथि घेराबन्दी तथा आक्रमण तीव्र छ।’
एमाले निर्णायक राष्ट्रिय शक्ति नबन्दासम्म देश रूपान्तरणका बाँकी कार्यहरू पूरा नहुने उल्लेख गर्दै उहाँले यो निर्वाचनलाई केवल सत्ता प्राप्तिको प्रतिस्पर्धा नभई वैचारिक जनमत संग्रहका रूपमा व्याख्या गर्नुभएको छ । ‘यो चुनाव ‘जलाउने’ र ‘जोगाउने’, ‘भत्काउने’ र ‘बनाउने’ बीचको जनमत संग्रह पनि हो,’ उहाँले भन्नुभएको छ ।
नेता रिमालले आम निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउन सबै पंक्ति एकजुट हुनुपर्नेमा जोड दिँदै उम्मेदवार चयनमा परेका एमालेका सबै उम्मेदवारहरूलाई जितकाे शुभकामना व्यक्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्