जनता टाइम्स

४ माघ २०८२, आईतवार १०:५२

एमालेकाे प्राथमिकतामा युवा : सोलुखुम्बुबाट प्रत्यक्षतर्फ कल्पना राई उम्मेदवार


काठमाडौं, माघ ४। नेकपा (एमाले) ले योग्यता, संघर्ष र समर्पणको कदर गर्दै सोलुखुम्बुबाट प्रत्यक्षतर्फ युवा तथा महिला नेतृत्वलाई अघि सारेको छ । एमाले सोलुखुम्बु जिल्ला कमिटीकी सचिव अधिवक्ता कल्पना राईलाई फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनाइएको हो ।

पार्टीले कल्पना राईलाई उम्मेदवार बनाउनु केवल एक व्यक्तिको उम्मेदवारी नभई पुस्तान्तरण, युवामाथिको भरोसा र संघर्षशील महिलाप्रतिको सम्मानको प्रतीक भएको एमाले नेताहरूको भनाइ छ । पार्टीले नयाँ पुस्तालाई जिम्मेवारी सुम्पिने साहसिक निर्णय गरेको सन्देश यसबाट प्रवाह भएको बताइएको छ ।

इमानदार, जुझारु र संगठनमा खारिएको नेतृत्वका रूपमा चिनिनु भएकी राईले सोलुखुम्बुको आवाज केन्द्रसम्म मजबुत रूपमा पुर्‍याउने विश्वास पार्टीले व्यक्त गरेको छ । विकास, सुशासन, रोजगारी र युवाको भविष्यका सवालमा उहाँको भूमिका निर्णायक हुने अपेक्षा एमालेले गरेको छ ।

एमालेले यो निर्वाचनलाई पुस्तान्तरणलाई संस्थागत गर्ने अवसरका रूपमा लिँदै युवा नेतृत्वलाई जिताएर जिल्लाको भविष्य सुरक्षित गर्नुपर्नेमा जोड दिएको छ । साथै स्थिरता र विकासको पक्षमा उभिन सोलुखुम्बुबासीलाई अपिल गरिएको छ ।

पार्टीले सम्पूर्ण सोलुखुम्बुबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेकपा (एमाले) का उम्मेदवार कल्पना राईलाई अमूल्य मत दिएर विजयी गराउन आग्रह गरेको छ । सबल नेतृत्व, उज्यालो भविष्य र समृद्ध सोलुखुम्बुको लागि एमाले उपयुक्त विकल्प भएको पार्टीको दाबी छ ।