जनता टाइम्स

४ माघ २०८२, आईतवार ११:५८

एमालेमा पुस्तान्तरणको सन्देश: १ सय ६५ मध्ये ५४ भन्दा बढी नयाँ अनुहारका उम्मेदवार


काठमाडौं, माघ ४ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याएको छ । पार्टीले यसपटकको निर्वाचनमा ५४ भन्दा बढी नयाँ अनुहारलाई उम्मेदवार बनाउँदै पुस्तान्तरण र युवामुखी नेतृत्वलाई प्राथमिकता दिएको छ ।

एमालेले सार्वजनिक गरेको अन्तिम सूचीअनुसार ५४ भन्दा बढी निर्वाचन क्षेत्रमा यसअघि संसदीय प्रतिस्पर्धामा नआएका, संगठनमा खारिएका र स्थानीयस्तरमा परिचित नयाँ नेताहरूलाई अघि सारिएको छ । तीमध्ये उल्लेख्य संख्यामा युवा तथा महिला उम्मेदवारसमेत रहेका छन् ।

पार्टीका अनुसार नयाँ अनुहारलाई अवसर दिनु केवल उम्मेदवार परिवर्तन मात्र नभई पार्टीभित्र पुस्तान्तरणलाई संस्थागत गर्ने रणनीतिक निर्णय हो । यसले संगठनमा दीर्घकालीन नेतृत्व विकास र जनतासँगको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

एमाले नेतृत्वले अनुभव र निरन्तरतासँगै परिवर्तनको सन्तुलन मिलाएर उम्मेदवार छनोट गरिएको दाबी गरेको छ । पुराना अनुभवी नेताहरूका साथै नयाँ उम्मेदवारलाई प्रतिस्पर्धामा उतारेर पार्टीले चुनावी अभियानलाई थप ऊर्जाशील बनाउने विश्वास व्यक्त गरिएको छ ।

पार्टीले सबै उम्मेदवारलाई निर्वाचन अभियानमा एकताबद्ध भएर अघि बढ्न निर्देशन दिँदै जनताको विश्वास जित्ने गरी सुशासन, स्थायित्व र विकासलाई प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गर्ने जनाएको छ ।

एमालेले उम्मेदवार टुंग्याउने प्रक्रिया पूरा भएसँगै देशव्यापी चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरेको छ ।

पार्टीले सुदूरपश्चिमदेखि पूर्वसम्मका विभिन्न जिल्लामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । कैलाली–१ बाट द्वारिका न्यौपाने, कैलाली–२ बाट सूर्यबहादुर थापा, कञ्चनपुर–१ बाट कमला बोहरा, कञ्चनपुर–२ बाट बचनबहादुर सिंह, अछाम–२ बाट यज्ञ बोगटी र बाजुराबाट लालबहादुर थापालाई उम्मेदवार बनाइएको छ ।

कर्णाली प्रदेशमा रूकुम पश्चिमबाट नन्दराम देवकोटा, जुम्लाबाट शान्तिलाल महत, मुगुबाट पूर्णबहादुर रोकाया र डोल्पाबाट लंक रोकायालाई उम्मेदवार बनाइएको छ ।

गण्डकी प्रदेशमा गोरखा–१ बाट मिलन गुरुङ, गोरखा–२ बाट आरसी लामिछाने, स्याङ्जा–१ बाट मीनप्रसाद गुरुङ, स्याङ्जा–२ बाट खिमबहादुर थापा, कास्की–१ बाट बैणबहादुर क्षेत्री तथा बाग्लुङ–१ बाट हीरा केसी र बाग्लुङ–२ बाट मञ्जु जुचालिसेलाई उम्मेदवार तोकिएको छ ।

वाग्मती प्रदेशअन्तर्गत रामेछापबाट माधवप्रसाद ढुंगेल, सिन्धुपाल्चोक–१ बाट आङदोर्जे शेर्पा, काभ्रे–१ बाट अमित लामा, धादिङ–२ बाट धनबहादुर घले, भक्तपुर–१ बाट सोमप्रसाद मिश्र, ललितपुर–१ बाट चेतनाथ सञ्जेल तथा काठमाडौंका विभिन्न क्षेत्रबाट मोहन रेग्मी, अमनकुमार मास्के, राजेश शाक्य र विनोद श्रेष्ठलाई उम्मेदवार बनाइएको छ ।

त्यसैगरी तराई–मधेश क्षेत्रमा सप्तरी, सिराहा, महोत्तरी, पर्सा र झापालगायत जिल्लामा यादव समुदायसहित विविध पृष्ठभूमिका उम्मेदवारहरूलाई एमालेले अघि सारेको छ ।

पूर्वी पहाडी जिल्लामा संखुवासभाबाट डा. अर्जुन कार्की, सोलुखुम्बुबाट कल्पना राई, ओखलढुंगाबाट अस्मिता थापा, खोटाङबाट देवविक्रम राई र उदयपुर–१ बाट दुर्गा थापा स्वोती उम्मेदवार बन्नुभएको छ ।

५४ नयाँ अनुहार (उम्मेदवार) 

# निर्वाचन क्षेत्र नयाँ उम्मेदवार
1 कैलाली–१ द्वारिका न्यौपाने
2 कैलाली–२ सूर्यबहादुर थापा
3 कैलाली–५ यज्ञराज ढुंगाना
4 कञ्चनपुर–१ कमला बोहरा
5 कञ्चनपुर–२ बचनबहादुर सिंह
6 अछाम–२ यज्ञ बोगटी
7 बाजुरा लालबहादुर थापा
8 डोटी दीपक धामी
9 डडेल्धुरा चक्र स्नेही
10 रुकुम पश्चिम नन्दराम देवकोटा
11 जुम्ला शान्तिलाल महत
12 मुगु पूर्णबहादुर रोकाया
13 डोल्पा लंक रोकाया
14 बर्दिया–१ सालिकराम अधिकारी
15 नवलपुर–१ भागीरथ सापकोटा
16 गोरखा–१ मिलन गुरूङ
17 गोरखा–२ आरसी लामिछाने
18 स्याङ्जा–१ मीनप्रसाद गुरूङ
19 स्याङ्जा–२ खिमबहादुर थापा
20 कास्की–१ बैणबहादुर क्षेत्री
21 रामेछाप–१ माधवप्रसाद ढुंगेल
22 सिन्धुपाल्चोक–१ आङदोर्जे शेर्पा
23 काभ्रे–१ अमित लामा
24 धादिङ–२ धनबहादुर घले
25 चितवन–१ कृष्णराज (कमल) पाठक
26 चितवन–२ अस्मिन घिमिरे
27 चितवन–३ शंकरराज थपलिया
28 काठमाडौं–१ मोहन रेग्मी
29 काठमाडौं–६ अमनकुमार मास्के
30 काठमाडौं–८ राजेश शाक्य
31 काठमाडौं–१० विनोद श्रेष्ठ
32 ललितपुर–१ चेतनाथ सञ्जेल
33 भक्तपुर–१ सोमप्रसाद मिश्र
34 सप्तरी–३ ताराकान्त चौधरी
35 सप्तरी–४ बालकृष्ण चौधरी
36 सिराहा–१ केदार यादव
37 सिराहा–२ नवीनकुमार यादव
38 सिराहा–४ बिल्टु यादव
39 महोत्तरी–२ रामपरिक्षण यादव
40 झापा–१ रामचन्द्र उप्रेती
41 झापा–४ मनोज ताम्ली
42 संखुवासभा डा. अर्जुन कार्की
43 सुनसरी–१ सूर्य पन्दाक
44 मोरङ–२ दिलीप बगेडिया
45 मोरङ–३ दिलीप राई
46 सोलुखुम्बु–१ कल्पना राई
47 ओखलढुंगा अस्मिता थापा
48 उदयपुर–१ दुर्गा थापा स्वोती
49 खोटाङ देवविक्रम राई
50 पर्सा–३ प्रमोद जयसवाल
51 अर्घाखाँची पिताम्बर भुसाल
52 इलाम–१ काजिमान कागते
53 बाग्लुङ–१ हीरा केसी
54 बाग्लुङ–२ मञ्जु जुचालिसे