काठमाडौं, माघ ४ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि केही निर्वाचन क्षेत्रमा उम्मेदवार हेरफेर गरेको छ।
पार्टी उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही–२ बाटै उम्मेदवार बनाउने निर्णय भएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले रुपन्देही–२ खाली राख्दै उहाँलाई पाल्पा–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, आज बसेको रुपन्देही–२ क्षेत्रीय कमिटीको विशेष बैठकले उपाध्यक्ष पौडेललाई सोही क्षेत्रबाटै उम्मेदवार बनाउनुपर्ने निष्कर्ष निकालेपछि पार्टीले निर्णय सच्याउँदै उहाँलाई रुपन्देही–२ मै उम्मेदवार बनाएको हो।
यसैगरी एमालेले सुदूरपश्चिमका दुई निर्वाचन क्षेत्रमा पनि उम्मेदवार परिवर्तन गरेको छ। हिजो बसेको सचिवालय बैठकले बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर–१ मा कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, उक्त निर्णय परिमार्जन गर्दै पार्टीले दुवै स्थानमा नयाँ उम्मेदवारलाई टिकट दिएको छ। बझाङबाट ऐन महर र कञ्चनपुर–१ बाट तारा लामा तामाङ उम्मेदवार बन्नुहुने भएको एमालेले जनाएको छ।
त्यस्तै, झापा–४ बाट एमालेले एलपी साँवालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ। सचिवालय बैठकपछि सार्वजनिक गरिएको प्रारम्भिक उम्मेदवार सूचीमा मनोज ताम्लीको नाम समावेश गरिएको थियो। तर, झापा–४ बाट यसअघि निर्वाचन जितिसक्नुभएका साँवाको सट्टा नयाँ उम्मेदवार अघि सारिएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको थियो।
उक्त असन्तुष्टिलाई सम्बोधन गर्दै एमालेले झापा–४ बाट एलपी साँवालाई नै उम्मेदवार बनाउने अन्तिम निर्णय गरेको जनाएको छ। पार्टीका अनुसार, स्थानीय तहदेखि केन्द्रसम्म उठेका सुझाव र भावनालाई ध्यानमा राख्दै आवश्यक परिमार्जन गरिएको हो।













प्रतिक्रिया दिनुहोस्